काठमाडौँ
प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री तथा शेरबहादुर देउव सिंगापुर प्रस्थान गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। निर्वाचन घोषणा भएलगत्तै निर्वाचन हुनैपर्ने भन्दै स्पष्ट अडान लिएका देउवा मतदानकै समयमा विदेश गएकाले यसलाई कतिपयले ‘भोट बहिष्कार’ को संकेतका रूपमा व्याख्या गरेका छन् भने निकट स्रोतहरूले भने यसलाई पूर्वनिर्धारित स्वास्थ्य भ्रमण बताइरहेका छन्।
निर्वाचन घोषणापछि मुख्य प्रतिस्पर्धी कम्युनिस्ट पार्टी अफ नेपा केही समय अलमलमा देखिएको अवस्थामा देउवाले सार्वजनिक रूपमै निर्वाचनलाई समर्थन गरेका थिए। उनले संवैधानिक व्यवस्था जोगाउन र लोकतान्त्रिक प्रक्रिया निरन्तर राख्न चुनाव अपरिहार्य रहेको धारणा व्यक्त गर्दै पार्टीपंक्तिलाई सक्रिय हुन निर्देशन दिएका थिए। त्यसले निर्वाचनको माहोल बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको थियो।
तर अहिले मतदानकै समयमा उनको सिंगापुर यात्रा सार्वजनिक भएपछि राजनीतिक सन्देशबारे प्रश्न उठ्न थालेका छन्। के यो स्वास्थ्य कारणले गरिएको सामान्य भ्रमण हो, वा भित्री राजनीतिक असन्तुष्टिको संकेत?
देउवा निकट स्रोतहरूका अनुसार उनको सिंगापुर भ्रमण स्वास्थ्य परीक्षणका लागि पूर्वनिर्धारित कार्यक्रम हो। नियमित स्वास्थ्य जाँचका लागि उनी समय–समयमा सिंगापुर जाने गरेका छन्। यस पटकको भ्रमण पनि सोही सिलसिलामा भएको दाबी गरिएको छ।
तर विपक्षी वृत्तले भने यसलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गरिरहेको छ। केही विश्लेषकहरूका अनुसार पार्टीभित्रको आन्तरिक असन्तुलन, उम्मेदवार छनोटप्रतिको असन्तुष्टि वा चुनावी समीकरणप्रति असहजता जस्ता कारणले उनी सार्वजनिक रूपमा त चुनावको पक्षमा देखिए पनि व्यवहारमा दूरी बनाएको हुनसक्छ।
राजनीतिक वृत्तमा उठेको अर्को प्रश्न के हो भने—निर्वाचनलाई निर्णायक मोडमा पुर्याउन भूमिका खेलेका नेताले मतदानको दिनमै देश बाहिर हुनु कति सान्दर्भिक छ? लोकतान्त्रिक अभ्यासमा मतदान व्यक्तिगत अधिकार मात्र नभई नैतिक जिम्मेवारी पनि मानिन्छ। त्यसमाथि पूर्व प्रधानमन्त्री जस्तो शीर्ष नेताको अनुपस्थितिले सन्देश कस्तो जान्छ भन्ने चासो स्वाभाविक देखिन्छ।
यद्यपि, देउवाले औपचारिक रूपमा भोट बहिष्कार गरेको घोषणा गरेका छैनन्। न त पार्टीले त्यस्तो कुनै धारणा सार्वजनिक गरेको छ। त्यसैले उनको सिंगापुर यात्रा ‘बहिष्कार’ हो कि ‘संयोग’, भन्ने विषयमा स्पष्टता आउन बाँकी नै छ।
निर्वाचनको संवेदनशील घडीमा शीर्ष नेताको अनुपस्थितिले राजनीतिक सन्देश अवश्य दिन्छ। अब प्रश्न यही हो—यो सन्देश रणनीतिक मौनता हो कि परिस्थितिजन्य यात्रा? त्यसको उत्तर भने समयले नै दिनेछ।











प्रतिक्रिया