उदयपुर ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका समयमा बजारमा कुनै पनि प्रकारका सामानको अभाव हुन नदिन, कालो बजारी महँगी हुन नदिने तथा आवश्यक सबै व्यवस्था मिलाउन, कुनै पनि कुराको अभाव हुन नदिने गरी चुस्त दुरुस्त रुपले बजारलाई चलायमान बनाउने निर्णय भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा बसेको सर्वपक्षिय बैठकले कालो बजारी महँगी नियन्त्रण गर्ने, निर्वाचनका समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन, बोतल, टंकी , ड्रम वा अन्य भाडावर्तनमा बिक्री नगर्न र पेट्रोलपम्पबाट मात्र विक्री वितरण गर्नु पर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेले दिनुभएको जानकारी अनुसार फागुन २१ गते हुने निर्वाचनका सामाग्री ढुवानी गर्न निजी क्षेत्रका यातायात व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरिएकोमा यातायात व्यवसायीहरुले सहयोग गर्न तयार रहेका छन् ।
बैठकमा सहभागी भएका त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेतले निर्वाचनका समयमा बजारमा कुनै पनि प्रकारका सामानको अभाव हुन नदिने, पेट्रोलियम पदार्थ तथा अन्य खाद्य सामाग्री, दैनिक उपभोग्य बस्तुहरु सरल सहज रुपले उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।
यसै गरी यातायात व्यवसायीका प्रतिनिधिले पनि निर्वाचनका समयमा सवारी साधन भाडा दिइए पनि दुरुपयोग हुन नदिने, स्थानीय प्रशासनलाई आवश्यक परेका समयमा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन अघिपछिका समयमा सरकारी कार्यालयका सवारी साधनहरु, सुरक्षा गस्ती तथा निर्वाचन सम्बन्धी अनुगमन, निर्वाचन सामाग्री ढुवानीमा उपलब्ध गराउनु पर्ने, निर्वाचनमा खटिएका कर्मचारीहरुलाई तोकिएको मतदान स्थल वा केन्द्रसम्म पुग्न सहयोग गर्नु पर्ने छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा भएको सो बैठकमा नेपाली सेनाको पशुपति प्रसाद गण उदयपुरका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरका सप्र उपरिक्षक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, निजी क्षेत्रका उद्यमी व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया