कांग्रेसले फागुन २१ को निर्वाचनका लागि प्रतिज्ञा पत्र सर्वसम्मत पारित गर्दै जनकपुरमा सार्वजनिक गर्ने


काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा पत्र अनुमोदन गरेको हो।

पार्टीले आज जनकपुरधाममा आयोजना हुने सभामार्फत प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ। सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव का अनुसार, यो प्रतिज्ञा सभा केवल राजनीतिक कार्यक्रम नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसर हो। मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा पार्टीले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणलाई आफ्नो मूल एजेन्डा बनाएको पनि उनले बताए।