काठमाडौँ ।
विश्वका ९० भन्दा बढी देशका १ हजारभन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए)ले संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक–निर्देशक दीप्ति आचार्यलाई सन् २०२५–२०२६का लागि आईसीएको राजदूत नियुक्त गरेको छ । अब उहाँले नेपाल तथा एसिया–प्रशान्त क्षेत्रका देशमा आईसीएको प्रतिनिधित्व गर्नुहुनेछ ।
आईसीएअन्तर्गत सञ्चालित इन्टरनेशनल अर्ली इयर्स करिकुलम (आईईवाईसी), इन्टरनेशनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेशनल मिडल इयर्स करिकुलम (आईएमवाईसी) कार्यक्रममार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकको सञ्जाल विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका खेल्नुहुनेछ ।
यो नियुक्ति आचार्यले दुई दशकदेखि प्रगतिशील शिक्षामा पु¥याउनु भएको योगदानको कदरका रूपमा गरिएको हो । उहाँकै नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा इन्टरनेशनल प्राइमरी करिकुलम (आईपीसी) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बनेको थियो ।
आईसीएकी निर्देशक क्यारन ब्लेफोरले दीप्ति आचार्यलाई राजदूतका रूपमा नियुक्त गर्न पाउँदा खुशी व्यक्त गर्दै गुणस्तरीय शिक्षाप्रतिको उहाँको प्रतिबद्धता र अन्तर्राष्ट्रिय पाठ्यक्रम कार्यान्वयनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आईसीए एम्बासडर कार्यक्रमले अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्तालाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालय सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यास प्रवद्र्धनमा केन्द्रित रहनेछ ।
दीप्ति आचार्य एएमआई–प्रशिक्षित मोन्टेसरी शिक्षिका हुनुहुन्छ र अमेरिकाबाट मोन्टेसरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँ विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा सक्रिय हुनुका साथै महिलातथा बालबालिकाको अधिकार र हितका क्षेत्रमा पनि निरन्तर वकालत गर्दै आउनुभएको छ ।











प्रतिक्रिया