ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी ५० प्रतिशत छुट


काठमाडौँ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तरराष्ट्रिय शैक्षिक प्रयोजनको भुक्तानीको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा छुट पाइने योजना ल्याएको हो ।

बैंकले नेपाली विद्यार्थीलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी जस्तै आइइएलटिएस, टोफल, स्याट, जिम्याट, पिटिई, एसिटी, एसिसिए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बीमा शुल्कलगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।

यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागु हुने बैंकले जनाएको छ । बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ ।

बैंकले ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।