काठमाडौँ
वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा ३ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस सहयोगले नियमित विद्युत् अभावका कारण औषधि, खोप तथा संवेदनशील स्वास्थ्य सामग्री सुरक्षित राख्न देखिएको समस्याको दीर्घकालीन समाधान गर्ने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रममा कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै निर्देशक जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सौर्य प्रणाली जडानपछि स्वास्थ्यचौकीमा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच, वल्र्डलिंकले सोही वडाअन्तर्गत रहेको श्री पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा सञ्चालन गरेको छ । लोकोपकार संस्थासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा निर्देशक जालानले विद्यालयमै पुगेर कक्षाको अवलोकन गर्दै विद्यार्थीको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
वल्र्डलिंकको यस पहलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया