महालक्ष्मी विकास बैंक को बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ सम्पन्न


काठमाडौँ
महालक्ष्मी विकास बैंकद्वारा आयोजित “बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम २०८२ फागुन १ गते सम्पन्न भएको छ । विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गर्दै आएको उक्त प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष सफलतापूर्वक सम्पन्न भएको हो ।

२०८२ भदौ ११ गतेदेखि असोज ३१ गतेसम्म फोटो संकलन गरिएको प्रतियोगितामा स्थानीय साना तथा मझौला व्यवसाय झल्कने तस्विर सहभागीका रूपमा प्राप्त भएका थिए । विभिन्न फोटोग्राफरमार्फत प्राप्त उत्कृष्ट तस्बिरमध्ये तीन सदस्यीय निर्णायक समितिले १५ वटा उत्कृष्ट तस्बिर छनोट गरेको थियो । प्रतियोगितामा समावेश तस्बिरले स्थानीय तहमा सञ्चालित व्यवसायमार्फत सकारात्मक सन्देश प्रवाह गरेका थिए ।

काठमाडौँमा आयोजित कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा पब्लिक च्वाइस अवार्ड विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य द्वितीय र देवानन्द पोख्रेल तृतीय हुन सफल भए । उनीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे । सबैभन्दा बढी मत प्राप्त गरी शर्मनराज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्दै १० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । साथै उत्कृष्ट १५ फोटोग्राफरलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा वृद्धि गरिएको बैंकले जनाएको छ ।

स्थानीय व्यवसाय, उद्यमशीलता तथा स्थानीय कलाको प्रवद्र्धन र प्रचारप्रसारमा यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले डिजिटल कारोबार प्रवद्र्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको “महालक्ष्मी माघ महोत्सव” समेत सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।