एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन सम्झौता


काठमाडौँ
एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्ट्रिय होटल हो । कम्पनीको प्रबन्धपत्र तथा प्रचलित कानूनअनुसार भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

एन आई सी एशिया क्यापिटलले आफ्नो “डब्लुएम टु आईपीओ” सेवा अन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ । सोही सेवा अन्तर्गत होटल ईष्टर्न नेपाललाई प्रा.लि.बाट पब्लिक कम्पनीमा रूपान्तरण गरी प्राथमिक शेयर निष्कासनसम्म पु¥याउने कार्य अघि बढाइने जनाएको छ ।

होटल ईष्टर्न नेपालले होटल सञ्चालनका लागि कन्टिनेन्टल होटल्स ग्रुप (एशिया प्यासिफिक) प्रा.लि. अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड “होलिडे इन एक्सप्रेस एन्ड सुइट्स” सँग व्यवस्थापकीय सम्झौता गरिसकेको छ । यस सम्झौताअनुसार होटलको व्यवसाय विस्तार, सञ्चालन तथा व्यवस्थापनमा उक्त अन्तर्राष्ट्रिय ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ । निर्माणको अन्तिम चरणमा रहेको होटल २०८३ साल जेठभित्र सफ्ट ओपनिङ गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

सञ्चालनमा आएपछि क्यासिनो, डेडिकेटेड हाई–एन्ड गेमिङ तथा इन्टरटेनमेन्ट, रूफटप स्विमिङ पुल, कन्फरेन्स, लग्जरी सुइट्स तथा मोडर्न रुम्स, बैंक्वेट हल, मल्टिपल डाइनिङ आउटलेट्स, रूफटप रेष्टुरेन्ट, ज्याकुजी, स्पा तथा फुल्ली इक्विप्ड हेल्थ क्लब, इन–हाउस लाउन्ड्री तथा प्रोफेसनल हाउसकिपिङलगायत पाँचतारे स्तरका सम्पूर्ण सेवा उपलब्ध गराइने जनाइएको छ ।

होटल भारतीय सीमाबाट करिब ७ किलोमिटर तथा बागडोगरा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाहमा विशेष ध्यान दिइनेछ । होटल ईष्टर्न नेपालले पूर्वी क्षेत्र मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

यसैबीच, “डब्लुएम टु आईपीओ” सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सक्ने जानकारीसमेत दिइएको छ ।