चन्द्रागिरीमा महाशिवरात्रि भजन उत्सव


काठमाडौँ ।

महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भजन उत्सव आयोजना हुने भएको छ ।

चन्द्रागिरीमा अवस्थित उक्त मन्दिर प्राङ्गणमा आइतबार दिनभर सञ्चालन हुने उत्सवमा भक्तजनहरूका लागि आध्यात्मिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।

उत्सवको विशेष आकर्षणका रूपमा पोखराको चर्चित युवा भजन समूहले दिउँसो २ बजेदेखि ५ बजेसम्म भजन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । उत्तम बराल र जुपिटर पौडेलसहितको टोलीले भक्ति संगीतमार्फत शिवमहिमाको गान गर्दै उपस्थित श्रद्धालुलाई आध्यात्मिक अनुभूति प्रदान गर्नेछ ।

साँझ शिव धुनीसँगै भव्य महाआरतीको आयोजना गरिनेछ, जसमा सहभागी भई भक्तजनहरूले विशेष पूजाअर्चना गर्ने अवसर पाउनेछन् ।

महाआरतीमा सहभागी हुन आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै चन्द्रागिरी केबलकारले साँझ ४ः३० बजेदेखि ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । साथै केबलकार सेवा साँझ ८ बजेसम्म सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।

चन्द्रागिरीस्थित भालेश्वर महादेवको धार्मिक–सांस्कृतिक महत्त्वलाई अझ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा भजन संगीतप्रेमी तथा श्रद्धालुहरूलाई उपस्थित भई महाशिवरात्रिको अलौकिक आनन्द लिन आयोजक चन्द्रागिरि हिल्सले आग्रह गरेको छ ।