कहिलेकाहीँ इतिहासका पानाहरू केवल मसीले लेखिँदैनन्, ती त पसिनाले भिजेको म्याटमा पौरखको गर्जनसँगै कोरिएका हुन्छन् । कडा नियम र क्षणभरको चुकले हार–जित तय हुने जुडोको संसारमा मनिता श्रेष्ठ प्रधान एउटा नाम मात्र होइन, एउटा उदाहरण बनेकी छिन् । माइनस ५७ केजी तौल समूहकी यी जुडो खेलाडी कदमा सानी देखिन्छिन्, तर उनको अदम्य साहस र अनुशासनले उनलाई हिमालभन्दा अग्लो बनाएको छ । विश्वका ठूला रंगशालामा नेपालको रगत र पसिनाको मूल्य प्रमाणित गर्ने मनिताले आज नेपाली महिलाका लागि ‘असम्भव’ भन्ने शब्दलाई म्याटमै पछारिदिएकी छिन् ।
पूर्वी नेपालको पहाडी जिल्ला पाँचथर, जहाँका भिराला पाखाहरूले दुःखका अनगन्ती सुस्केराहरू लुकाउँछन् र जहाँका मानिसहरूको धैर्यले पहाडलाई पनि चुनौती दिन्छ, त्यही माटोमा सन् १९९९ मा मनिताको जन्म भयो । तर, उनको बाल्यकाल सुखसयलले सुसज्जित थिएन । जीवनले उनलाई कलिलो उमेरमै यस्ता कठोर र निर्मम प्रश्नहरू सोध्यो, जसको उत्तर खोज्न ठूला–ठूला मानिसहरू पनि डगमगाउँछन् । ‘प्रिजनर्स असिस्टेन्स मिसन’ (पीएम) को छहारीमा हुर्कनुपर्ने विवशतालाई मनिताले कहिल्यै आफ्नो कमजोरी बनाइनन् । उनले अभाव र वियोगलाई आफ्नो नियति मानेर हार मान्नुको साटो, त्यसैलाई एउटा ऊर्जाको स्रोतमा परिणत गरिन् ।

जहाँ धेरै बालबालिका परिस्थितिको चक्रव्यूहमा फसेर आफ्ना सपनाहरूको गला रेट्न बाध्य हुन्छन्, त्यहाँ मनिताले आफूभित्र एउटा कहिल्यै ननिभ्ने आगोलाई पहिचान गरिन् । हारसँग नझुक्ने, नयाँ कुरा सिक्न सधैँ लालायित रहने र कठोर मिहिनेतसँग कहिल्यै भयभीत नहुने त्यो अद्भूत चमक प्रशिक्षक सूर्यनारायण श्रेष्ठले पहिलो पटक उनको आँखामा देखेका थिए । त्यो केवल एउटा सानी बालिकाको पहिचान मात्र थिएन, त्यो त नेपाली खेलकुदको इतिहासमा एउटा नयाँ र सुनौलो युगको मौन शंखघोष थियो ।
सुरुवातमा जुडो मनिताको पहिलो रोजाइ थिएन । अन्य खेलहरूमा हराइरहेकी उनलाई दिदी र गुरुहरूको स्नेहपूर्ण करकापले मात्र जुडोको ‘डोजो’ सम्म पु¥याएको थियो । तर, भाग्यले उनलाई अर्कै र महान् बाटोका लागि छनोट गरिसकेको थियो । जब उनलाई जुडोको ‘डोजो’ (अभ्यास स्थल) सम्म पु¥यायो र उनले पहिलो पटक सेतो ‘जुडो–गी’ लगाएर म्याटमा आफ्नो पाइला राखिन्, त्यो क्षणले उनको जीवनको रेखा नै बदलिदियो । सन् २००९ मा १० वर्षे बालिकाको रूपमा सुरु भएको त्यो यात्रा आज पनि उस्तै कठोर र अनुशासित लयमा अघि बढिरहेको छ । बिहानको चिसो शीत होस् वा शरीर गलेर शिथिल भएको साँझ, दैनिक चार घन्टौंको अनवरत पसिनाले उनलाई निखारेको छ ।
म्याटमा उत्रँदा उनी बिजुली झैँ तीव्र र आक्रामक हुन्छिन् । उची–माता, को–उची–गारी र सेइ–नागे जस्ता कठिन दाउहरू उनले वर्षौँको साधनाले धारिलो बनाएकी छिन् । तर, म्याट बाहिर उनी एउटी अर्कै मनिता हुन । अत्यन्तै शान्त, गम्भीर र एउटी चिन्तनशील युवती । उनी भन्छिन्, “जुडो खेलाडी केवल बलियो शरीर मात्र होइन, एउटा संवेदनशील मन र चेतनशील दिमाग भएको व्यक्ति हुनुपर्छ ।” यही सोचले उनलाई भीडभन्दा माथि र अलग पहिचान दिलाएको छ ।
मनिताको करियरमा सन् २०१७ एउटा कोशेढुंगा सावित भयो । किर्गिस्तानको बिश्केकमा भएको एसियाली जुनियर च्याम्पियनसिपमा काँस्य पदक जितेपछि उनलाई महसुस भयो कि नेपाली चेलीले पनि विश्वस्तरको प्रतियोगितामा जित्न सक्छन् भनेर । सोही वर्ष एसियाली जुडो च्याम्पियनसिपमा हङकङकी खेलाडी के.क्वोकलाई पराजित गर्दै उनले २९ वर्षदेखिको नेपाली जुडोको खडेरीलाई समाप्त पारिन् । यो जित केवल खेलमा भएको एउटा जित मात्र थिएन, यो त एउटा राष्ट्रको पुनरागमन पनि थियो ।
त्यसपछिको मनिताको यात्रा केवल पदक र प्रतियोगिताहरूको तथ्याङ्क मात्र रहेन, नेपालको रक्तिम चन्द्र–सूर्य झन्डा बोकेर विश्वका कुना–काप्चा पुग्ने एउटा महाअभियान बन्यो । इन्डोनेसियाका रंगशालादेखि जापानको ऐतिहासिक डोजोसम्म, अजरबैजानका आधुनिक म्याटदेखि स्विट्जरल्यान्ड र हंगेरीका चिसो हावापानीसम्म । जहाँ जहाँ मनिता पुगिन्, त्यहाँ उनले नेपाली नारीको प्रतिनिधित्व पात्र बनेर साहस पस्किन् । दक्षिण एसियाली खेलकुदको रजत पदक होस् वा राष्ट्रिय च्याम्पियनसिपमा उनको एकछत्र राज । यी हरेक सफलताका पछाडि शरीरमा लागेका नीला डामहरू, हड्डी फुट्ने गरी गरिएका अभ्यासहरू, बगेका आँसु र समाजका अनेकन् तिखा टिप्पणीहरूको मौन सामना लुकेका छन् । गुरु देबु थापाको कडा अनुशासन, कहिलेकाहीँ शरीरले थेग्नै नसक्ने गरी दिइने प्रशिक्षण र आफैंभित्रको अन्तरद्वन्द्वलाई मनिताले गहनाजस्तै सजाएर अघि बढिन् ।
ओलम्पिक, विश्व खेलकुदको त्यो महाकुम्भ हो जुन हरेक खेलाडीका लागि अन्तिम सपना सरह हुने गर्छ । जब मनिता कन्टिनेन्टल क्वालिफिकेसनमा सफल भएर सन् २०२४ को पेरिस ओलम्पिकमा छनोट भइन् र पेरिसको भव्य उद्घाटन समारोहमा नेपालको झन्डा बोकेर गौरवका साथ मार्चपास गरिन्, त्यो दृश्य केवल एउटा खेलाडीको व्यक्तिगत सफलता मात्रै थिएन, त्यो त पाँचथरका दुर्गम पहाडहरूको सामूहिक आवाज थियो । पाम गृहमा बिताएका ती बाल्यकालका यादहरूको भव्य उत्सवमा परिणत भएको क्षण थियो ।

ओलम्पियन प्रशिक्षक देबु थापाको मार्गदर्शन, आईओसी छात्रवृत्तिको टेवा र उनको आफ्नै कहिल्यै नथाक्ने समर्पणले उनलाई एउटा विश्वस्तरीय आइकनको रूपमा स्थापित ग¥यो । यही अटुट मेहनतको कदर गर्दै नेपाल ओलम्पिक कमिटीले उनलाई २०२८ को ओलम्पिक स्कलरसिपका लागि पनि छनोट गरेको छ । जसले उनको भविष्यका सपनाहरूलाई थप पखेटा हालिदिएको छ । यो केवल आर्थिक सहयोग मात्र होइन, यो त नेपालले विश्व खेलकुदमा फेरि एउटा सुनौलो इतिहास रच्ने सम्भावनाको एउटा बलियो ढोका हो ।
आज मनिता श्रेष्ठ प्रधान केवल एउटा नाम वा पदकको सूची मात्र होइनन्, उनी त एउटा आशाको किरण हुन् । अभावको खाडलमा हुर्किएका बालबालिकाहरूका लागि, समाजको पुरातन घेरा र पर्खालभित्र बाँधिएका असंख्य युवतीहरूका लागि र आफ्नै परिस्थिति देखेर सपना देख्न डराउने हरेक नेपालीका लागि उनी एउटा जिउँदो र जाग्दो प्रमाण हुन । मनिता भन्छिन्, “आफ्नो देशको प्रतिनिधित्व गर्नु भनेको केवल खेल जित्नु मात्र होइन, करोडौँको भरोसा र देशको इज्जतलाई आफ्नो काँधमा बोकेर हिँड्नु हो ।”
मनिता अझै थाकेकी छैनन्, न त उनको सपनाको भोक नै मेटिएको छ । उनको हरेक ‘बाउट’ ले आज नेपाली जुडोको स्वर्णिम इतिहासका पानाहरू अझै लेखिन बाँकी छ भनेर वर्णन गरिरहेका छन । आशा गरौं त्यो अध्याय ढिलोचाँडो सुनौला अक्षरले कोरिने नै छन् । जसका लागि आवश्यक मसी मनिताले पनि आफ्नो रगत र पसिनालाई बनाउन कुनै कसर बाँकी राख्ने छैन । मनिता श्रेष्ठ प्रधान आज केवल एउटी खेलाडी मात्रै होइनन, उनी आगामी पुस्ताका लागि एउटा प्रेरणाको स्रोत पनि हुन् ।













प्रतिक्रिया