चक्कु प्रहारबाट किशोरको ज्यान गयो, दुई जना पक्राउ


दैलेख।

दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको मृत्यु भएको छ। फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालमाथि चक्कु प्रहार हुँदा उनको ज्यान गएको हो।

दुल्लू अस्पताल नजिकै भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र विभूषण शाहीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार तीन जनाबीच भएको विवादपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते भएका खनाललाई उपचारका लागि दुल्लू अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि फरार भएका दुवै अभियुक्तलाई प्रहरीले करिब १० किलोमिटर टाढा चामुण्डा क्षेत्रको जंगलबाट नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।