काठमाडौँ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी–२०८२” सम्पन्न भएको छ। गोष्ठी Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आयोजना गरिएको हो।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
उद्घाटन सत्रमा बोल्दै सचिव शर्माले यातायात विकासको आधार भए पनि सडक सुरक्षाको विषय दिनानुदिन संवेदनशील बन्दै गएको उल्लेख गरे। सडक सुरक्षा जस्तो महत्त्वपूर्ण विषयमा एक निकाय मात्र सक्रिय भएर नहुने बताउँदै उनले सरोकारवाला सबै निकाय र उच्च तहका नेतृत्वको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डा. रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालय (कार्य विभाग), काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिका लगायतका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए। कार्यक्रमका क्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका विविध पक्षमा छलफल समेत गरिएको थियो।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले छलफल भएका विषयमा सुझाव तथा टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यशालाको मुख्य उद्देश्य सडक सुरक्षा सुदृढीकरण तथा सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य प्रवर्द्धन गर्नु तथा दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु रहेको थियो। साथै ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय अनुभव र नवीन अभ्यासको आदान–प्रदान, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि तथा विद्यालय, विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकहरूमा जिम्मेवारी बोध गराउने लक्ष्यसमेत रहेको जनाइएको छ।
समापन सत्रका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यशालाले सडक प्रयोग र सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायबीच नीतिगत तथा कार्यगत समन्वय सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सो अवसरमा उनले Institute of Road Traffic Education का अध्यक्ष डा. रोहित बालुजालाई मायाको चिनो प्रदान गरेका थिए।

त्यस्तै, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा योगदान पुर्याएको भन्दै NAIMA का प्रतिनिधिहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।











प्रतिक्रिया