काठमाडौं ।
महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवको अवसरमा आयोजित युवा आदानप्रदान कार्यक्रम (Youth Exchange Program) अन्तर्गत नेपाल भ्रमणमा रहेको नेशनल क्याडेट कोर्प्स (NCC) को प्रतिनिधिमण्डलले प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलसँग शिष्टाचार भेटघाट गरेको छ।

बिहीबार जङ्गी अड्डामा भएको भेटमा भारतबाट NCC का महानिर्देशक लेफ्टिनेन्ट जनरल वीरेन्द्र वात, पाकिस्तानबाट मानव स्रोतका महानिर्देशक मेजर जनरल मुहम्मद शाहिद अब्रो, भुटानबाट डिपार्टमेन्ट अफ स्कूल एजुकेशनका निर्देशक ताशी नामग्याल तथा मालदिभ्सबाट लेफ्टिनेन्ट कर्नेल यासिर मोहामेदको नेतृत्वमा आएको प्रतिनिधिमण्डल सहभागी रहेको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन आएको टोलीले भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, प्रतिनिधिमण्डलले फाल्गुण ३ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष समारोह अवलोकन गर्नेछ।

भ्रमण अवधिमा टोलीले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यस प्रकारको युवा आदानप्रदान कार्यक्रमले विभिन्न राष्ट्रका छात्रछात्राबीच कला, भाषा, संस्कृति तथा अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्रदान गर्नुका साथै आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया