नेपालीरिका होटलको ५० करोडको साधारण शेयर निष्काशन


पूर्वी नेपालको आतिथ्य सत्कार उद्योगमा समर्पित मोरङ प्रदेशको विराटचोकमा अवस्थित नेपालीरिका होटल लिमिटेडले सर्वसाधारणका लागि १०० रुपियाँ अंकित दरका ५० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त ५० करोड रुपियाँ बराबरको साधारण शेयर निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री व्यवस्थापकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी कार्यका लागि नेपालीरिका होटल लिमिटेडका तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच मिति २०८२ माघ २९ गते नयाँ बानेश्वर, काठमाडौंस्थित लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार निकट भविष्यमा साधारण शेयर सार्वजनिक रूपमा निष्काशन गरिनेछ ।

कम्पनीको यो कदमले संस्थागत विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य उद्योग र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता झल्काउँछ । विशेष गरी मोरङ प्रदेशमा लगानीका अवसर विस्तार गर्ने उद्देश्यले कम्पनीले साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

विराटचोकस्थित नेपालीरिका होटलमा १४६ वटा आकर्षक ढंगले सजाइएका कोठा तथा विशिष्ट कक्ष उपलब्ध छन् । यस सुविधासम्पन्न होटलमा सपनाको विवाह समारोह तथा स्तरीय सभा–सम्मेलन आयोजना गर्न उपयुक्त विशाल बहुउद्देश्यीय हलहरू रहेका छन्, जहाँ विभिन्न संस्थागत कार्यक्रमहरू सञ्चालन गर्न पूर्ण व्यवस्था गरिएको छ ।

त्यस्तै, दमकस्थित नेपालीरिका होटलमा ३९ वटा सुविधासम्पन्न कोठा तथा विशिष्ट कक्षहरू, भोजनालय र मदिरालय रहेका छन्, जुन परम्परागत नेपाली वास्तुकलामा निर्मित सम्पदा खण्डमा अवस्थित छन् । होटलले ५० देखि १,५०० जनासम्म क्षमताका भोज तथा सम्मेलन सेवा र पौडी पोखरीको सुविधा समेत प्रदान गर्दै आएको छ ।