काठमाडौं ।
सस्तो मूल्यमा बिलसहितको सुन उपलब्ध गराइदिने प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार माघ १४ गते दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–१४ स्थित घ्याङ्खेलमा पीडितलाई बोलाई नगद. ६०,००,००० (साठ्ठी लाख) ल्याउन लगाइएको थियो। त्यहाँ पुगेपछि ८/९ जनाको समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट गर्दै रकम लुटेर फरार भएका थिए।
घटनापछि फरार रहेका रमेश बुढा मगर र दिपक राईलाई ईलाका प्रहरी कार्यालय बिर्तामोड, झापासँग समन्वय गरी बिर्तामोड नगरपालिका क्षेत्रबाट २०८२ माघ २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाइएको छ।
पक्राउ परेका रमेश बुढा मगर (४१) सुर्खेत जिल्ला चिङ्गार गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् र हाल काठमाडौं तिलङटार बस्दै आएका थिए। यस्तै दिपक राई (३४) इलाम जिल्ला सूर्योदय नगरपालिका–१४ लक्ष्मीपुरका स्थायी बासिन्दा हुन् र हाल काठमाडौं टोखा नगरपालिका–६ बस्दै आएका थिए।
प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी तीव्र बनाइएको जनाएको छ।











प्रतिक्रिया