सामुदायिक बनमा १ करोडभन्दा बढी मूल्यको साल जातको काठमा आगजनी

470
Shares

रौतहट ।

  चन्द्रपुर नगरपालिका–२, जुडिबेलामा रहेको नमुना सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा बिहीबार १ करोड रुपैयाँभन्दा बढी मूल्यको साल जातको गोलिया काठमा आगजनी भएको छ । ६ बर्ष अघि कटान भई उक्त बनक्षेत्रमा घाटगध्दी गरी राखिएको करिब ८ हजारभन्दा बढी क्युफिट सालको गोलिया काठमा अज्ञात समूहले आगो लगाएको छ ।

 आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रयासरत भए पनि उपभोक्ता समूहका सदस्य र बनकर्मचारी आगो निभाउन सक्रिय नभएको बताइएको छ । समयमै काठ बिक्री नुहनु, बन गस्ती डिभिजन बन कार्यालय र उपभोक्ता समूह बाट नहुनुनै बनमा क्षति पुग्ने गरेको छ । सो आगलागी २०७६ सालमा ४ सय केभी लाइन विस्तारको क्रममा काटिएका साल जातको गोलिया काठमा भएको हो । 

उपभोक्ता समूहको लेखापरिक्षण र साधारण सभा नगरेका कारण उक्त काठ बिक्रीमा नभएको जुडिबेला सब–डिभिजन बन कार्यालयका अधिकृत बालकिसोर सिंहले जानकारी दिए । गर्मी मौसम र जमिनको सुख्खापनले आगो फैलिन सजिलो भएको र पाँच घण्टा जति लागेको आगोको जानकारी समयमा नदिँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले बताए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ र आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रयास गरिरहेको छ।