काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनसीएचएलबीच ईएफटी कार्ड स्विच तथा सर्भिसेसमार्फत नेपालपे कार्डको भुक्तानी सक्षम गर्ने सम्बन्धमा सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् । यससँगै सिटिजन्स बैंक नेपालपे कार्डको एक्वाइरिङ तथा इस्युइङका लागि ईएफटी कार्ड स्विचमा आबद्ध हुने पहिलो सदस्य बैंक बनेको छ ।
एनसीएचएलको ईएफटी स्विच नेसनल कार्ड स्विचसँग इन्टिग्रेट भइसकेकाले अब सिटिजन्स बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न र कार्ड एक्वायर गर्न सक्नेछ । पहिलो चरणमा बैंकले आफ्ना १६८ वटा एटीएम र ४९१ वटा पिओएस टर्मिनलमार्फत नेपालपे कार्ड एक्वाइरिङ सेवा सुरु गर्नेछ भने क्रमिक रूपमा ग्राहकलाई कार्ड जारी गरिनेछ ।
एनसीएचएलले हाल नेपालपे कार्डको व्यवसायिक रोलआउट सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएपछि बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पिओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।
हाल एनसीएचएलको ईएफटी सर्भिसेसमार्फत १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आएका छन्। ईएफटी र नेसनल पेमेन्ट स्विचबीचको इन्टिग्रेसनपछि नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको हो । अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड एक्वायर तथा इस्यु गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भई विभिन्न चरणमा रोलआउट भइरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल नेपालका अग्रणी बैंकमध्ये एक हो। बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा रूपान्तरण गरिरहेको छ । देशभर बैंकका १९७ शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ सेवा तथा १६२ एटीएम टर्मिनल सञ्चालनमा छन्। बैंकका ४ लाखभन्दा बढी कार्डधारक ग्राहक रहेका छन् ।











प्रतिक्रिया