पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न, एकीकृत सुरक्षा योजना प्रभावकारी कार्यान्वयनमा जोड


काठमाडौं ।

नेपाली सेनाको जंगी अड्डामा आयोजित ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ सम्पन्न भएको छ। रक्षा मन्त्रालय अन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठक आज २०८२ माघ २८ गते सम्पन्न भएको हो।

बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पृतना स्तरमा सम्पादित प्रभावकारी कार्यहरूको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद व्यक्त गरेका छन्। उनले सकलदर्जाको सामूहिक भावना तथा एकताबद्ध प्रयासलाई निरन्तर कायम राख्दै ‘एकीकृत सुरक्षा योजना–२०८२’ अनुरूप अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वयात्मक रूपमा कार्य गर्न निर्देशन दिएका छन्। साथै, आसन्न निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गराउन विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।

बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष तथा समसामयिक विषयहरूमा समेत विस्तृत छलफल गरिएको नेपाली सेनाले जनाएको छ। बदलिँदो सुरक्षा चुनौती र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै रणनीतिक तयारीलाई थप सुदृढ बनाउने विषयमा समेत विमर्श भएको थियो।

समापन कार्यक्रममा बलाधिकृत रथीन्द्र लगायत वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

नेपाली सेनाले नियमित रूपमा सञ्चालन गर्दै आएको यस्तो समन्वयात्मक बैठकले संगठनभित्र कार्यसम्पादनको समीक्षा, नीति कार्यान्वयनको अवस्था तथा आगामी रणनीतिक दिशाबारे साझा समझदारी कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।