सागरनाथ वन परियोजनामा ५८ करोड बढी चुहावट: बागमती नगरपालिकाका मेयरसहित १२ विरुद्ध मुद्दा


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाभित्र वन पैदावार उत्खनन् गरी ५८ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा बागमती नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन् गरी ७,३८,९३,५०८.९४ क्यू फिट वन पैदावार बिक्री–वितरण गरिएको पाइएको छ। सो परिमाणको रोयल्टी रकम ५८,६२,१४,६५८ रुपैयाँ ९९ पैसा बराबर राजस्व चुहावट भएको आरोप छ।

आरोपपत्रमा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहितका पदाधिकारी तथा सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख र सहायक वन अधिकृतहरूलाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार राष्ट्रिय वन क्षेत्रमा पोखरी निर्माणका नाममा उत्खनन् गरिएको र वन ऐन तथा नियमावलीबमोजिमको रोयल्टी नउठाई राजस्व हिनामिना गरिएको देखिएको छ।

प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कायम गरी कैद तथा दोब्बर जरिवाना मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।