एनसेलद्वारा आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण


काठमाडौँ
एनसेलले डेटा गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता आइएसओ २७००१ः२०२२ (सूचना सुरक्षा व्यवस्थापन प्रणाली–आइएसएमएस) र आइएसओ २७७०१ः२०१९ (गोपनीयता सूचना व्यवस्थापन प्रणाली–पीआइएमएस) नवीकरण गराएको छ ।

यस नवीकरणसँगै कम्पनीले सूचना सुरक्षा र डेटा गोपनीयतामा आफ्नो नेतृत्वदायी भूमिकालाई थप सुदृढ बनाउँदै ग्राहक विश्वासलाई अझ मजबुत बनाएको जनाएको छ ।
गत वर्ष यी दुवै मापदण्डमा प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको एनसेलले यस वर्ष पनि आवश्यक प्रक्रिया पूरा गर्दै मान्यता नवीकरण गराएको हो । आइएसओद्वारा तोकिएको स्वतन्त्र निकायमार्फत गरिएको सर्भेलेन्स अडिटपछि एनसेलका सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी सुशासन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि भएको कम्पनीले जनाएको छ । नवीकरण गरिएका मान्यता आगामी एक वर्षसम्म मान्य रहनेछन् ।

यस मान्यताको दायरा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा तथा आईटी सेवासम्म फैलिएको छ । यसले कम्पनीले ग्राहकको व्यक्तिगत तथा संवेदनशील जानकारी उच्चतम अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिरहेको स्पष्ट पार्दछ ।

आइएसओ २७००१ ले साइबर जोखिम र अनधिकृत पहुँचबाट ग्राहक तथा साझेदारको डेटा जोगाउन आवश्यक सशक्त सुरक्षा उपाय अवलम्बन गरिएको सुनिश्चित गर्छ भने आइएसओ २७७०१ ले व्यक्तिगत डेटा संरक्षण, जोखिम न्यूनीकरण र गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन भएको प्रमाणित गर्दछ ।

एनसेलले आफ्ना प्रणालीहरू सम्भावित अवरोध न्यूनीकरण, जोखिम व्यवस्थापन र व्यवसाय निरन्तरताका आधारमा विकास गरेको उल्लेख गर्दै डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । कम्पनीका अनुसार पारदर्शिता, जवाफदेहिता र ग्राहक विश्वास नै यसको व्यवसाय सञ्चालनको केन्द्रबिन्दु हुन् ।