काठमाडौँ
युलेन्स एजुकेशन फाउन्डेशनले विध्वंसपछि पाँच महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्दै विद्यालयलाई पुनः सञ्चालनमा ल्याएको जनाएको छ । दक्षिण एशियाकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने लक्ष्यका साथ सन् २००६ मा स्थापना भएको यो संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा नाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता छ । फाउन्डेशनअन्तर्गत युलेन्स स्कूल ललितपुर (आईबी पीवाईपी र आईबी डीपी), युलेन्स स्कूल काठमाडौं (आईबी एमवाईपी), युलेन्स लिप–ग्याप इयर कार्यक्रम, युलेन्स कलेज तथा युलेन्स शिक्षक विकास केन्द्र सञ्चालनमा रहेका छन् ।

गत भाद्र २४ गते भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा खुमलटारस्थित विद्यालयका पाँच भवन, बाँसबारीस्थित विद्यालयका तीन भवन र काभ्रेको नालास्थित आउटडोर लर्निङ सेन्टर पूर्ण रूपमा ध्वस्त हुँदा करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । संस्थाले उक्त घटनाले भौतिक संरचनामात्र नभई आफ्नो आस्था, समर्पण र सामाजिक प्रतिष्ठामा समेत गम्भीर आघात पुगेको जनाएको थियो ।
विध्वंसपछि तीव्र गतिमा अघि बढाइएको पुनर्निर्माण कार्यअन्तर्गत युलेन्स स्कूल काठमाडौंको भौतिक पूर्वाधार पूर्ण रूपमा पुनर्निर्माण भई विद्यालय पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । युलेन्स स्कूल ललितपुरमा आंशिक पुनर्निर्माण सम्पन्न भई केही भवनमा कक्षा सञ्चालन सुरु भएको छ भने बाँकी संरचनाको निर्माण कार्य जारी रहेको जनाइएको छ । युलेन्स कलेज, ग्याप इयर कार्यक्रम तथा शिक्षक विकास केन्द्र पनि पुनः सञ्चालनको तयारीमा छन् । आगजनीमा नष्ट भएका सवारी साधनलाई वातावरणमैत्री विद्युतीय बसद्वारा प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइएको र आगामी शैक्षिक सत्रदेखि व्यवस्थित यातायात सेवा सञ्चालन गरिने बताइएको छ ।
संस्थाले भौतिक संरचनासँगै शैक्षिक नेतृत्व र नीतिगत संरचनामा समेत पुनर्संरचना गरेको छ । सुशासन, शैक्षिक उत्कृष्टता र दीर्घकालीन संस्थागत विकासलाई सुदृढ बनाउने उद्देश्यले बोर्ड अफ ट्रस्टीज पुनर्गठन गरिएको छ। नवगठित बोर्डमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र बैंकका वरिष्ठ बैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल तथा शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा नियुक्त हुनुभएको छ ।
ललितपुरस्थित युलेन्स स्कूलको प्रिन्सिपलमा एकता राणा नियुक्त हुनुभएको छ। दुई दशकदेखि विद्यालयमा आबद्ध राणाले शिक्षक, एकाइ संयोजक तथा उप–प्रिन्सिपलका रूपमा अनुभव हासिल गर्नुभएको छ । बैंक स्ट्रिट कलेज अफ एजुकेशनबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गर्नुभएकी राणा प्रगतिशील शिक्षाशास्त्रमा दक्ष मानिनुहुन्छ। पूर्व प्रिन्सिपल मेदिन बहादुर लामिछाने अब फाउन्डेशनका प्रमुख शैक्षिक अधिकारी (चिफ एकेडेमिक अफिसर) का रूपमा कार्यरत रहनुहुनेछ । उहाँले पाठ्यक्रम विकास, शिक्षण अभ्यास तथा शिक्षकको व्यावसायिक विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पूर्व अध्यक्ष डा. आरजु राणा देउवाको कार्यकाल समाप्त भएसँगै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रा.डा. भोला थापाले सम्हाल्नुभएको छ। साधारणसभाले पुनर्निर्माण र नेतृत्व परिवर्तनका निर्णयलाई अनुमोदन गर्दै आगामी वर्षका प्राथमिकता र कार्यक्रमबारे छलफल गरेको जनाएको छ।
विध्वंसपछिको कठिन समयमा सहयोग र समर्थन गर्ने शुभचिन्तक, अभिभावक, नागरिक समाज, सञ्चारमाध्यम तथा विशेषगरी ललितपुर महानगरपालिकालगायत सरोकारवाला निकायप्रति फाउन्डेशनले आभार व्यक्त गरेको छ । साथै, थप सुदृढ कार्ययोजना र उन्नत शैक्षिक कार्यक्रमसहित रूपान्तरित तथा सक्षम युलेन्स फाउन्डेशन सञ्चालन गर्ने प्रतिबद्धता दोहो¥याउँदै युलेन्स विश्वविद्यालय सञ्चालनतर्फको लक्ष्य अझ सशक्त रूपमा अघि बढिरहेको जनाएको छ ।











प्रतिक्रिया