उजय शाक्यको पुस्तक ‘ब्रान्डसूत्र २.०’ अब बजारमा

दक्षिण एसियाबाट ब्रान्ड निर्माणको व्यावहारिक दृष्टिकोण


काठमाडौँ।

मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.० (Brandsutra 2.0)’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपाल र दक्षिण एसियाली बजारका वास्तविक अनुभवमा आधारित यस पुस्तकका लेखक उजय शाक्य हुन्, जो आउटरिच नेपालका संस्थापक तथा अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनलका रूपमा परिचित छन्।

दक्षिण एसियामा दशकौँको व्यावसायिक अनुभव समेटिएको यो पुस्तकले ब्रान्ड कसरी विकसित हुन्छ, कसरी सान्दर्भिक रहन्छ र कहिलेकाहीँ किन असफल हुन्छ भन्ने विषयलाई व्यवहारिक रूपमा प्रस्तुत गर्छ। लेखक शाक्यका अनुसार ब्रान्ड निर्माण छोटो बाटोको यात्रा होइन, बरु दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भको समझ र जिम्मेवार अभ्यास आवश्यक पर्ने प्रक्रिया हो। पुस्तकले ‘ब्रान्ड संरक्षण’ (Brand Stewardship) को अवधारणालाई केन्द्रमा राख्दै दिगो ब्रान्ड निर्माणतर्फ पाठकलाई प्रेरित गर्छ।

पुस्तकका सम्पादक प्रो. उज्ज्वल के. चौधरी हुन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रमा अनुभवी नेतृत्वकर्ता मानिन्छन्।

‘ब्रान्डसूत्र २.०’ विशेष गरी युवा मार्केटिङ प्रोफेसनल, व्यवसायी, विद्यार्थी, उद्यमी तथा ब्रान्ड नेतृत्वकर्ताहरूका लागि उपयोगी छ। यसले रणनीतिभन्दा अघि दृष्टिकोणमा जोड दिँदै पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सिर्जनशीलता र दीर्घकालीन ब्रान्ड संरक्षणबारे स्पष्ट र सन्तुलित सोच विकास गर्न मद्दत गर्छ।

पुस्तक हाल नेपालमा उपलब्ध छ र छिट्टै अन्य दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध हुने जनाइएको छ।