रौतहट ।
रौतहटको देवाही गोनाही नगरपालिकामा खेतमा घाँस काटेको विषयलाई लिएर भएको विवादमा सामूहिक कुटपिट हुँदा तीन महिला गम्भीर घाइते भएका छन्। सोमबार राति वडा नं. ५ टीकुलिया गाउँमा भएको घटनामा महेश तिवारीकी छोरीहरू २५ वर्षीया अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी र छिमेकी ४० वर्षीया अनतिया बिन घाइते भएकी हुन्।
घाइतेहरूलाई राति नै एम्बुलेन्समार्फत बारा जिल्लाको कलैया स्थित ए प्लस अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनीहरूको आईसीयूमा उपचार भइरहेको छ र अवस्था क्रमशः सुधार हुँदै गएको छ। अनतिया बिनको टाउकोमा गहिरो चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
प्रहरीका अनुसार तोरीको खेतमा घाँस काटेको विषयमा भएको विवादपछि शङ्कर राय यादव, उनका छोरा शम्भु राय यादव तथा घरका महिलाहरूले तिवारीको घरमा प्रवेश गरी फलामको रड प्रयोग गरेर कुटपिट गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।











प्रतिक्रिया