निर्वाचन होइन, छाक टार्ने संघर्ष


काठमाडौं ।

सुर्खेतको वीरेन्द्रनगरदेखि करिब ४० किलोमिटर टाढा रहेको बराहताल गाउँपालिका–४ का बनबारी र मिलन टोलका बस्तीहरू सिँचाइ, विद्युत् र रोजगारी अभावका कारण सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन हुँदाहुँदै पनि सिँचाइ नहुँदा गहुँ र मकैले वर्षभरि खान पुग्दैन, धान खेती सम्भव छैन। आम्दानीको स्रोत नहुँदा अधिकांश युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका छन्, जसका कारण गाउँमा बुढाबुढी र बालबालिका मात्र बाँकी छन्।

विद्युत्, खानेपानी र सञ्चार सेवा नहुँदा जनजीवन थप कष्टकर बनेको छ। विद्युत्का पोल गाडिए पनि बत्ती बलेको छैन भने धारामा पानी आउँदैन। बाँदर र स्यालले बाली तथा खाद्यान्न नष्ट गर्ने समस्या थपिएको छ। निर्वाचन नजिकिँदा पनि उम्मेदवार र राजनीतिक चासो गाउँसम्म पुगेको छैन। लालपुर्जाविहीनता र आधारभूत सेवाको अभावले यहाँका नागरिक राज्यबाट उपेक्षित भएको गुनासो गर्छन्।