स्याङ्जा ।
स्याङ्जाको गल्याङमा नेपाली साहित्यको गरिमामय उत्सवका रुपमा ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको पूर्वसन्ध्यालाई विशेष अवसरका रुपमा पारेर जगत्रदेवी साहित्य सङ्गम गल्याङले गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम पल्लव साहित्य प्रतिष्ठान, भरतपुर चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समारोहको अध्यक्षता जगत्रदेवी साहित्य सङ्गम गल्याङका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले गर्नुभएको थियो । साहित्य, सिर्जना र स्रष्टाको सम्मानलाई केन्द्रमा राखेर आयोजना गरिएको यो काव्य उत्सवले गल्याङलाई एक दिन नेपाली साहित्यको केन्द्र बनाएको सहभागीहरुको धारणा थियो ।
समारोहमा प्रमुख अतिथि ऋषिप्रसाद लामिछानेलाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ प्रदान गरिएको थियो । नेपाली साहित्यमा लामो समयदेखि पु¥याउँदै आउनुभएको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको आयोजक संस्थाले जनाएको छ । सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्दै लामिछानेले साहित्य समाजको चेतनाको ऐना भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरुले नयाँ पुस्तालाई सिर्जनातर्फ प्रेरित गर्ने बताउनुभयो । त्यसैगरी, कार्यक्रमको प्रायोजन गर्नुहुने सङ्गमका अध्यक्ष भट्टराईका पूर्व विद्यार्थी तथा हाल अमेरिका निवासी डा. विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । प्रायोजकको सम्मान उहाँका दाजु पितम खड्कालाई हस्तान्तरण गरिएको थियो । विदेशमा रहेर पनि जन्मभूमिको साहित्य र संस्कृतिप्रति देखाएको योगदान प्रशंसनीय रहेको वक्ताहरुले बताए ।
सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराईले आफ्नो अध्यक्षीय मन्तव्यमा सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीको विशेष सहयोगका कारण गल्याङमा यसरी काव्य उत्सव आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारको लगानीमा हुनुपर्ने यस्ता साहित्यिक र सांस्कृतिक कार्यक्रम देश–विदेशमा रहेर श्रम गर्ने नेपालीहरुको सहयोगले सम्पन्न भइरहेको यथार्थ प्रस्तुत गर्दै सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा सङ्गमका उपाध्यक्ष लीलाबल्लभ अर्यालले नाट्यसम्राट बालकृष्ण सम र कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक व्यक्तित्व र योगदानबारे विस्तृत चर्चा गर्नुभएको थियो । उहाँले दुवै स्रष्टाले नेपाली साहित्यलाई आधुनिकता, गहिराइ र सौन्दर्य प्रदान गरेको उल्लेख गर्दै उनीहरुका कृतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
विशिष्ट अतिथि गल्याङ नगरपालिका–७ का वडाध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन नगर कार्यपालिकाको बैठकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, आफ्नो वडाको तर्फबाट आवश्यक सहयोग गर्न सधैँ तत्पर रहने उहाँको भनाइ थियो । स्थानीय तह र साहित्यिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । समारोहमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराललगायतको उपस्थिति रहेको थियो । अतिथिहरुले गल्याङमा निरन्तर रुपमा साहित्यिक गतिविधि भइरहेकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थाको प्रशंसा गरेका थिए ।
काव्य उत्सवको मुख्य आकर्षण कविता वाचन रहेको थियो । सभाहल कविता र शब्दको गुञ्जनले भरिएको थियो । उत्सवमा दुर्गा राना, दिलीप मगर, गीता थापा, पितम खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर केसी, सनतकुमार गैरे, लोकहरि पाण्डे ‘क्षितिज’, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम भण्डारी, प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने र सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराईलगायतका स्रष्टाहरुले राष्ट्रिय परिवेश, समाज, संस्कृति र समसामयिक विषयवस्तुमा आधारित कविता वाचन गर्नुभएको थियो ।
कविताले श्रोतालाई भावुक बनाउनुका साथै सोच्न बाध्य बनाएको थियो । समग्रमा, ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ ले नेपाली साहित्यका महान् स्रष्टाहरुको स्मरण गर्दै समकालीन स्रष्टाहरुलाई एकै थलोमा उभ्याउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यस्ता कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा साहित्यिक गतिविधिलाई थप जीवन्त बनाउने विश्वास गरिएको छ ।











प्रतिक्रिया