देश चुनावमय भएको छ। देश चुनावमय बन्दै जाँदा एकातिर प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू चुनावी दौडाहामा व्यस्त छन् भने अर्कोतर्फ सामाजिक–राजनीतिक कथावस्तु बोकेको फिल्म बिगुलको टिम पनि देश दौडाहामा सक्रिय देखिएको छ।
आगामी फागुन १ गते देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म बिगुलको टिमले पश्चिम नेपाल केन्द्रित एक साताव्यापी दर्शक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ। यसअघि पूर्वी नेपालका विभिन्न स्थानमा पुगेर दर्शकस“ग प्रत्यक्ष अन्तरक्रिया गरिसकेको टिमले यसपटक बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगञ्ज र पोखरामा दर्शक भेटघाट गरेको हो।
पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौंडा र चितवनसम्मको प्रवद्र्धन यात्रापछि निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला, अभिनेता नरेन खड्कालगायतको टोली पश्चिम नेपाल पुगेको थियो। प्रवद्र्धनका क्रममा दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको निर्माता दिनेश कोइरालाले बताए। ‘हामी पुगेका सबै स्थानमा दर्शकहरू बिगुल हेर्न उत्सुक देखिनुभयो’ उनले सुनाए ‘स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, नेपाल जेसिसका पदाधिकारी, विद्यालय–कलेज तथा विभिन्न पेशाकर्मीको उल्लेखनीय साथ पाएका छौँ। फिल्मले उठाएको जनताको आवाजप्रति सबैको सकारात्मक धारणा छ।’
अभिनेता नरेन खड्काले बिगुलले सबै उमेर, वर्ग र समुदायका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। ‘जहा“–जहा“ हामी पुग्यौं, फिल्मको विषयवस्तुले दर्शकको ध्यान खिचेको पायौ“’ उनले भने, ‘दर्शकहरू फिल्मको प्रतीक्षामा हुनुहुन्छ।’
निर्देशक रमेश कोइरालाका अनुसार भुइ“मान्छेको कथा बोल्ने बिगुलले समसामयिक राजनीतिक यथार्थलाई पर्दामा यथार्थपरक ढंगले प्रस्तुत गरेकाले दर्शकको चासो बढेको हो। समसामयिक राजनीतिक खिचातानी, पारिवारिक दायित्व, सामाजिक जिम्मेवारी तथा आम नेपालीका मौलिक हकअधिकारलाई फिल्मले विषयवस्तु बनाएको छ। फिल्म प्रवद्र्धनमा नेपाल जेसिसले सहकार्य गरेको थियो। जेन–जी पुस्ताको भावनासमेत समेटिएको दाबी गरिएको बिगुल टिमले पोखराका विभिन्न विद्यालय र कलेजका विद्यार्थीस“ग समेत अन्तक्र्रिया गरेको थियो।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्कासँगै बेनीशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, नवअभिनेत्री मीरा पण्डित, मानश्री शर्मा र रवीन्द्र खड्काको अभिनय रहेको छ।
महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, शिव ढकालको छायाँकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।











प्रतिक्रिया