जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप


काठमाडौं ।

सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रोपटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । आयोगको दोस्रोपटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदै छ ।

आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो’ –बैठकपछि प्रवक्ता अर्यालले भन्नुभयो ।

सरकारले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न गत असोज ५ गते विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । त्यति बेला तीन महिनाको कार्यादेश दिइएको थियो ।

तर, आयोगले काम पूरा गर्न नसकेपछि गत पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना म्याद थपेको थियो । आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुन २० दिन म्याद थपेको थियो ।