–यातायातका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय जुम्लाले तीन दिनमा लाइसेन्स लिनेहरूमध्ये २२ सय ६ परीक्षार्थीको प्रयोगात्मक परीक्षा गरिएको नक्कली विवरण तयार पारेर फर्जी काम गरेको पाइएको छ । साथै सो कार्यालयले विदेशमा बसेका र फेल भएकालाई पनि लाइसेन्स दिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै तीन दिनमा २२ सय ६ परीक्षार्थीको परीक्षा गराएको भन्ने नक्कली विवरणसमेत बनाएको खुलासा भएको छ ।
सो कार्यालयले २०७५ सालको असोज १८, १९ र २० गते गरी तीन दिनमा सञ्चालन गरिएको वर्ग ‘ए’ र ‘के’ को प्रयोगात्मक परीक्षामा २२ सय ६ जनाले परीक्षा दिएको अभिलेख तयार गरेको पाइएको तर सोही कार्यालयले २०८१ सालमा अख्तियारलाई लेखेको पत्रमा जुम्ला कार्यालयले दैनिक न्यूनतम २ सयदेखि अधिकतम २ सय ५० जनाको मात्रै परीक्षा लिन सक्ने क्षमता भएकाले तीन दिनमा २२ सयको परीक्षा लिइएको भन्ने विवरण अस्वाभाविक देखिएको थियो । यसका आधारमा अख्तियारले गरेको छानबिनमा जुम्ला कार्यालयले ठूलो अनियमितता गरेको पाइएको जनाएको हो ।
अख्तियारले यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल र जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायब निरीक्षक गंगाराम विश्वकर्माविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उहाँहरूले २२ सय ६ जानको परीक्षा लिइएको नक्कली विवरण बनाउनुका साथै वैदेशिक रोजगारीमा रहेको व्यक्ति तथा प्रयोगात्मक परीक्षामा फेल÷अनुपस्थित भएका व्यक्तिसमेत १८ जनालाई सवारी चालक अनुमतिपत्र दिएको आयोगको भनाइ छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रयोगात्मक परीक्षा नतिजा रिपोर्टमा फेल तथा अनुपस्थित जनाइएका १८ (अठार) जना व्यक्तिहरूको नाममा वर्ग ‘ए’ र ‘ई’ तथा विदेशमा रहेका व्यक्ति शालिकराम भण्डारीको नाममा ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र जारी गरेको पाइएको छ । जबकि, जुन बेला उनी विदेशमा थिए त्यो बेला यहाँ लिखित र प्रयोगात्मक परीक्षामा सहभागी भएको अभिलेख राखिएको छ ।
आयोगले गरेको अनुसन्धानमा भण्डारी २०७०÷०५÷१९ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गई २०७५÷०५÷२३ मा नेपाल फर्केको देखिएको छ । तर, उनलाई २०७५÷०४÷२० गतेको लिखित परीक्षा र २०७५÷०४÷२०को प्रयोगात्मक परीक्षामा पास गराई २०७५÷०४÷२५ गते ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र नं. १४–००४५२३ जारी गरेको देखिएको छ ।
त्यसै गरी, प्रयोगात्मक परीक्षाको परिणाममा फेल जनाइएको कम्प्युटर प्रवृष्टिमा एडिट गरी फेलबाट पासमा नतिजालाई सच्याई, उत्तीर्ण जनाई सवारी चालक अनुमतिपत्र जारी गरे गराएको, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण जनाइएका शिवबहादुर क्षेत्रीलाई ‘ई’ वर्गको, प्रयोगात्मक परीक्षामा अनुपस्थित हिमाल बोहोरालाई पनि पास देखाइ लाइसेन्स दिएको पाइएको छ ।
यसै गरी, प्रयोगात्मक परीक्षामा फेल जनाइएका अंकबहादुर शाही, शान्ता कुमारी चौलागाईं, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दहाल, दिपक शाही, रेशम अधिकारी, नेत्रकला जैशी, आस्था भट्टराई, कुंग सन्डुप लामा, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल, ताराबहादुर थापालाई समेत परीक्षाको परिणाम फेरबदल लाइसेन्स दिइएको आयोगले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख देवकोटाले फेल भएको नतिजालाई पास भनी कम्प्युटरमा (युजर आईडी) ४६७ बाट सच्चाएको कुरा यातायात व्यवस्था विभाग, सूचना प्रविधि शाखाको २०८२÷०३÷१९ को पत्रसमेतबाट थप पुष्टि भएको आयोगले जनाएको छ ।











प्रतिक्रिया