काठमाडौं ।
झापाको निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवार रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन)ले झापालगायत पूर्वी नेपालको भ्रमणका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी खरिद गर्दा ७६ लाख ५० हजार ७ सय २० रुपियाँ राजस्व छली गरिएको पुष्टि भएसँगै त्यस प्रकरणमा संलग्न दर्जनौं कर्मचारीहरू छानबिनको घेरामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो ल्यान्डरोभर गाडी ल्याउने क्रममा राजस्व छली भएको पुष्टि भएसँगै त्यस कार्यमा संलग्न भन्सार र यातायातका दर्जनौं कर्मचारीहरूमाथि छानबिन थालेको हो ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेनलाई सो गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशले सहयोगस्वरूप उपलब्ध गराउनुभएको थियो । रितेश र बालेन साथी हुन् । विवादास्पद व्यापारी मालपानीले बालेनलाई आफूनिकट ल्याउनका लागि अहिलेदेखि नै विभिन्नखाले सहयोग गर्नुभएको र सोहीअनुसार सो गाडी उपलब्ध गराएको बताइएको छ । ६ करोडभन्दा बढी मूल्यको सो गाडी ल्याउने क्रममा त्यति धेरै कर छली भएको हो ।
मालपानीको गाडी चढेको भन्दै बालेन आलोचित भएपछि उहाँले सो गाडी चढ्न छोड्नुभएको थियो । यद्यपि, सो गाडी प्रयोग गरिएको सम्बन्धमा बालेन र उहाँको सचिवालयबाट कुनै प्रष्टोक्ति आएको छैन । उक्त गाडी मालपानीका छोरा नितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा रहेको यातायात व्यवस्था विभागको अभिलेखमा उल्लेख छ । नबिल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणीमा पनि त्रिमूर्ति इन्डस्ट्रिज प्रालि उल्लेख छ ।
बालेनले प्रयोग गरेको वागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएको हो । काइरोस मालपानीकै निकट कम्पनी रहेको बताइएको छ । काठमाडौंको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले सन् २०२४ देखि हालसम्म नेपालमा आयात गरेका ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा ६ वटा सवारी साधनहरूमा भन्सार छली गरेको पाइएपछि अख्तियारले छानबिनलाई तीव्रता दिएको हो । अख्तियारले यस प्रक्रियामा संलग्न भन्सार र यातायातका सबै कर्मचारीको विवरण माग गरेको जनाएको छ ।
अख्तियारको छानबिनका क्रममा ल्यान्ड रोभर कम्पनीका २ वटा डिफेन्डर ११० मोडलको २९९६ सिसिको डिजेल इन्जिनको सवारी साधनलाई कुल भन्सार दर ३५८.६७ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सारदर २५७.९८ प्रतिशतमात्र लगाई जाँचपास गरेको देखिएको र उल्लिखित दुई गाडीबाट १ करोड ५० लाख ११ हजार १ सय ९३ राजस्व छली गरेको पाइएको छ ।
यसै गरी काइरोसले खरिद गरेको ल्यान्ड रोभर कम्पनीको ३ वटा रेन्ज रोभर भेलर (१९९७सीसी, डिजेल इन्जिन, आईसीसी र १ वटा रेन्ज रोभर इभोक (१९९७ सीसी, डिजेल इन्जिन, आईसीसी) गरी ४ वटा डिजेल इन्जिनको सवारी साधनलाई कुल भन्सारदर २९१ .५५ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७.९८प्रतिशतमात्र लगाई जाँचपास गरेको पाइएको छ । ती चार वटा गाडीबाट ७१ लाख ४९ हजार राजस्व छली गरेको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
यी गाडीहरू आयात गर्दा राजस्व छली कार्यमा सरकारका यातायात र भन्सार कार्यालयहरूका कर्मचारीहरूकै सेटिङ रहेको पाइएको छ । यातायात व्यवस्था विभाग मीनभवनले सवारी साधनको स्पेसिफिकेसन को गलत विवरण खुलाई सवारी साधन आयात तथा दर्ता गर्न यातायात कार्यालयहरू, भन्सार विभाग र भन्सार कार्यालयलाई पत्राचार गरेको थियो । यातायात व्यवस्था विभागले पनि सवारीसाधनको यथार्थ नै नबुझी अनुमति दिएको देखिन्छ । जसमा ठूलो आर्थिक मिलेमतोको आशंका गरिएको छ । यातायात व्यवस्था विभागले ल्यान्ड रोभर कम्पनीको २९९६ सीसीको पीएचईभी पेट्रोल गाडी आयातको अनुमति दिएको थियो ।
वाणिज्य विभाग, यातायात व्यवस्था विभाग हुँदै उक्त गाडी भन्सारमा आइपुग्दा पनि गम्भीर लापरबाही भएको छ । नेपाली कम्पनी काइरोस इन्टरनेसनलले यातायात व्यवस्था विभागले दिएको अनुमतिलाई नै आधार मानेर २९९६ सीसी क्षमताको पेट्रोल हाइब्रिड ल्यान्ड रोभर डिफेन्डर भनेर इन्भोइस तयार गरेको पाइएको छ ।











प्रतिक्रिया