खाबी लामे ‘द साइलेन्ट टिकटक स्टार’: ५ वर्षभित्रै सामान्य मजदुरबाट अर्बपति

0
Shares

कहिलेकाहीँ संसारलाई हल्लाउन ठूला भाषण वा चर्को आवाज चाहिँदैन, एउटा अर्थपूर्ण मौनता नै काफी हुन्छ । इन्टरनेटको भिडभाड र कोलाहलका बीच एक जना यस्ता युवक विश्वप्रसिद्ध भएका छन्, जसले नबोलीकनै संसारको ध्यान आफूतिर खिच्न सफल भए । उनी हुन् खाबी लामे । तेजिलो नजर, हल्का व्यंग्यात्मक हाउभाउ र सही समयमा गरिएको एउटा हातको इशारा । बस, यतिमै उनले भाइरल हुने परिभाषा मात्र बदलेनन्, बरू एउटा यस्तो ट्रेन्ड खडा गरे जहाँ भाषाको कुनै सिमाना नै छैन । न कुनै क्याप्सन, न कुनै चर्को संगीत, न कुनै भाषा बुझाइको अवरोध । केवल शुद्ध प्रतिक्रिया, जसले अमेरिकाको न्युयोर्कदेखि केन्याको नैरोबीसम्मका मानिसलाई एकैसाथ हसाउँछ र सोच्न बाध्य बनाउँछ ।

खाबीको यो यात्रा कुनै ओछ्यानमा सुतेर देखेको सपना होइन, यो त अभावको भुमरीबाट जन्मिएको एउटा चमत्कार हो । सन् २००० मा सेनेगलमा जन्मिएका खाबी सानैमा परिवारसँगै इटाली सरेका थिए । आप्रवासीको ट्याग, रित्तो गोजी र भविष्यको अनिश्चितता, त्यस्तै थियो उनको बाल्यकालमा भरिएको संघर्षको एउटा लामो श्रृंखला । परिवार पाल्नका लागि उनले कलिलो उमेरमै पसिना बगाउनुप¥यो । कहिले मेसिनको चर्को आवाज आउने कारखानामा त कहिले सानातिना काममा । उनी एक सामान्य मजदुर थिए, जसको दैनिकी फलामका टुक्राहरूसँग खेल्दै बित्थ्यो । तर, कसैले सोचेको थिएन कि त्यही कारखानाको धुलो र पसिनाभित्र विश्वकै सबैभन्दा चम्किलो तारा लुकेको छ भनेर ।

सन् २०२० मा जब कोरोना महामारीले संसारलाई ठप्प बनायो, खाबीको जीवनमा पनि एउटा ठूलो बज्रपात प¥यो । उनले आफ्नो कारखानाको जागिर गुमाए । बेरोजगारीको पीडा र रित्तो हात लिएर घर फर्किँदा उनीसँग दुईवटा विकल्प थिए, कि त भाग्यलाई धिक्कार्दै बस्ने, कि त केही नयाँ गर्ने । उनले दोस्रो बाटो रोजे । एउटा सानो कोठा र एउटा मोबाइल फोनको भरमा उनले टिकटकमा भिडियो बनाउन थाले । उनले केही फरक गरेनन्, केवल संसारका मानिसहरूले देखावटी रूपमा जटिल बनाएका ‘लाइफ ह्याक्स’ माथि आफ्नो मौन प्रतिक्रिया दिए । कसैले फलफूल काट्न मेसिन खोज्थ्यो भने उनी हातैले सजिलै काटेर देखाइदिन्थे र अन्त्यमा उनले आफ्नो त्यो आइकोनिक इशारा गर्थे, जसको अर्थ हुन्थ्यो “के यति सजिलो कुरा पनि बुझ्दैनौ ?”

यस्तै ‘मौन कमेडी’ ले इन्टरनेटमा यस्तो आगो लगायो । नतिजा, केही महिनामै उनी विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका स्टार बने । जहाँ अरू क्रिएटरहरू चर्चा पाउनका लागि लाखौँ खर्च गर्थे, खाबीले केवल आफ्नो स्वाभाविक अनुहारको भावले करोडौँको मन जिते । आज उनी केवल एउटा भिडियो निर्माता मात्र होइनन्, उनी विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये बनेका छन् । कारखानाको भुइँमा मजदुरी गर्ने ती हातहरूले आज विश्वका ठूला ब्रान्डहरूको विज्ञापन साइन गर्छन् । फुटबलका महानायक मेसीदेखि हलिउडका स्टारहरूसम्म आज खाबीको एउटा क्लिपमा देखिन लालायित हुन्छन् । ५ वर्षभित्रै एक सामान्य मजदुर अर्बपतिको सूचीमा सामेल हुनु, यो कुनै फिल्मको कथाभन्दा कम सनसनीपूर्ण छैन ।

विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबी लामेले अहिले आम्दानीको मामिलामा पनि नयाँ कीर्तिमान कायम गरिरहेका छन् । रिपोर्टहरूका अनुसार, उनले एउटै ‘स्पोन्सर गरिएको’ पोस्ट बापत करिब ४ लाख डलरदेखि ७ लाख ५० हजार डलरसम्म (करिब ५ करोडदेखि १० करोड नेपाली रुपैयाँसम्म) बुझ्ने गर्छन् । सन् २०२६ को सुरुवातसम्म आइपुग्दा उनको सम्पत्तिमा झनै ठूलो बढोत्तरी भएको छ । आफ्नो ब्रान्डलाई व्यावसायिक रूपमा विस्तार गर्ने एउटा विशाल सम्झौतापछि उनको ब्रान्डको मूल्य ९७५ मिलियन डलर (करिब १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ भन्दा बढी) पुगेको बताइएको छ । यो ठूलो आर्थिक मोडसँगै उनी एक भाइरल क्रिएटर मात्र रहेनन्, बिजनेस टाइकुनका रूपमा स्थापित भएका छन् ।

खाबीको यो ‘गोल्डन रन’ ले एउटा ठूलो पाठ सिकाउँछ । यदि शैली मौलिक छ भने संसारले तपाईँको शब्द खोज्दैन । उनले कहिल्यै अरूको सिको गरेनन् । यदि उनी पनि अरू जस्तै नाच्न वा गाउन थालेका भए, सायद आज पनि इटालीको कुनै गल्लीमा गुमनाम मजदुरी गरिरहेका हुन्थे । उनले जटिलताको भीडमा सरलता रोजे र त्यही सरलता नै उनको सफलताको हतियार बन्यो । आज विलासी जीवन र अथाह सम्पत्ति भए पनि खाबीको खुट्टा अझै जमिनमै छ । उनी अझै उस्तै सरल र मिजासिला छन्, जसले आफ्नो संघर्षका दिनहरूलाई नबिर्सिएको दर्शाउँछ ।

यदि आफ्नो जीवन अस्तव्यस्त र कठिन लाग्छ भने खाबी लामेको अनुहार सम्झिनुहोस् । उनी ती सबैका लागि प्रेरणा हुन्, जो शून्यबाट सुरु गरेर शिखरमा पुग्न चाहन्छन् । आवाजले भरिएको यो कोलाहलपूर्ण इन्टरनेटको दुनियाँमा खाबी लामे एउटा यस्तो शान्त व्यङ्ग्य हुन्, जसले नबोलीकनै एउटै कुरा भनिरहेका छन् “जीवनलाई जटिल नबनाऊ, यसलाई सहज रूपमा लिएर बाँच ।” उनले यसरी आफ्नो कुरा बयान गरिरहँदा संसारले त्यसलाई ताली बजाएर स्वीकार गरेका छन ।