विदेश अध्ययन र रोजगारीको नाममा ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाडौं ।

अध्ययन भिसा तथा वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१० स्थित Happy Educational Consultancy का सञ्चालक बद्री सिलवाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला चितवन, राप्ती नगरपालिका–२ घर भई हाल काठमाडौंमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका ३२ वर्षीय सिलवालले अध्ययन भिसामा विदेश पठाइदिने भन्दै दुई जना विद्यार्थीबाट सोही कन्सल्टेन्सीको खातामा जम्मा २१ लाख ७० हजार रुपैयाँ जम्मा गराएको र पोर्चुगल पठाउने प्रक्रिया अघि बढाइरहेको भनी झुक्याएर कन्सल्टेन्सी बन्द गरी फरार भएको उजुरी परेको थियो । सोही जाहेरीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले माघ २० गते सिलवाललाई पक्राउ गरेको हो । हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा सिलवालले आफ्नो परिचय केदार प्रसाद सिलवाल बताउँदै अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाइदिने प्रलोभन देखाई १२ लाख रुपैयाँको चेक काट्न लगाई भुक्तानी लिएको र सोही नामको बैंक खातामा थप ४० हजार रुपैयाँ समेत जम्मा गराई कुल १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

यसैगरी, सिलवालले चितवनको भरतपुर उपमहानगरपालिका–१० मा पनि Happy Educational Consultancy सञ्चालन गरी चार जनालाई सर्बिया कामदार भिसामा पठाइदिने भन्दै २१ लाख ९० हजार ५०० रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी समेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्पेन पठाइदिने भन्दै अन्य तीन जनाबाट समेत १२ लाख रुपैयाँ ठगी गरेको भनी थप पीडितहरू सम्पर्कमा आएका छन् । ठगीसँग सम्बन्धित थप उजुरी संकलन भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।