वीरगञ्ज ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
माघ २६ गते सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्न पुगेको सशस्त्र प्रहरी बल नेपालमाथि तस्कर समूहले ढुंगामुढा प्रहार गरेका हुन् । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेर करिब ७ लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको थियो ।
बरामद कार्य सम्पन्न भएपछि तस्कर समूह एक्कासि आक्रमणमा उत्रिँदा झडप भएको बताइएको छ । तस्करहरूको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एक वानटन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ । साथै घटनामा ३ जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि थप सुरक्षा सतर्कता अपनाउँदै उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बरामद गरिएको अवैध कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।











प्रतिक्रिया