मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: ढोग,आशिर्वाददेखि लिएर विकास,रोजगारी र प्रविधिका कुरा 

0
Shares

म्याग्दी। 

फागनु २१ मा हुन लागेको निर्वाचनको मिति जतिजति  नजिकिँदै छ  हिमाली जिल्ला म्याग्दीमा चुनावी माहोल बढ्दै गएको छ ।  बिहानी पख डम्म कुहिरोले ढाकिने गाउँवस्ती दिन छिपिदै जाँदा बिस्तारै खुल्दै गएर सफा देखिन थालेपछि यहाँको चुनावी सरगर्मी पनि तापिलो र रापिलो बन्दै गएकोहुन्छ । जनभेटघाटको लागि गाउँ वस्तीमा पुगेका उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक किसिमकका उपायहरु लगाइरहेका छन् । ढोग्ने,आर्शिवाद लिने,अंगालो हाल्ने,हात समातेर पाँचसात पाइलासँगै हिड्ने,दुःखसुख सोेध्ने,छोराछोरी र परिवारको खैखबर लिने जस्ता आत्मीय भाव झल्किने उदात्त व्यवहार प्रदर्शन गरेर मतादाताको मन जित्ने प्रयास गरिरहेका छन् । यस्तो लाग्छ चुनाव जितेर गएपछि वा चुनाव बाहेकको अरु समयमा पनि यस्तै आत्मीयतापूर्ण व्यवहार जनताप्रति भैदिने होभने जनतालाई किन दुःख हुँदोहो ? नेता र राजनीतिप्रति किन वितृष्णा उत्पन्न हुँदोहो र ??

उम्मेदवारहरुले देखाएको यो व्यवहार मौसमी व्यवहार हो भन्ने मतदाताहरुले पनि राम्रोसँग बुझेका छन् । त्यसलैले मतदाताहरु उम्मेदवारहरुलाई पेचिला प्रश्नहरु गरिरहेका छन् । सचेत मतदाताहरुले उम्मेदवारहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय राजनीति र परिवेशका कुराहरुदेखि लिएर जेन्जी आन्दोलनपछि उत्पन्न नेपालको अवस्था र यसको निकासका लागि उम्मेदवारको दल र चुनाव जितेपछि उम्मेदवारको भूमिकाका बारेमा प्रश्न गरिरहेका हुन्छन् भने सामान्य मतदाताले पुराना पार्टीका उम्मेदवारहरुलाई अहिलेसम्म के ग¥यौ ? भनेर आफूले विगतका निर्वाचनमा दिएका मतको हिसावकिताव मागिरहेका हुन्छन् । तिनै मतदाताहरुसँग नयाँ उम्मेदवारहरु पुग्दा उनीहरुको प्रश्न हुन्छ “एक्लै के गर्न सकौला र ? के गर्छौ तिमीले जितेर ??”

घरदैलो अभियान अन्तर्गत भोट माग्दै गाउँ गाउँमा पुगेका उम्मेदवारहरुलाई ठूला ठूला आश्वासन होइन जनताका आधारभूत समस्यामा केन्द्रित हुन मतदाताले आग्रह गरेका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारहरु बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेद्वारले तीव्रता दिएका छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उम्मेद्वारहरु लागेका छन् । तर मतदाताहरुले भने रोजगारी,बाटोघाटो तथा पुल निर्माण, पर्यटन तथा कृषि क्षेत्रको विकास लगायतका विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नेका पक्षमा मतदान गर्नुपर्ने बताउँदै आएका छन् ।

आश्वासन प्रतिभन्दा पनि उम्मेद्वारको कार्यशैली, क्षमता तथा इमान्दारीजस्ता पक्षलाई विचार गरेर मतदाता गरिने उनीहरुको भनाइ छ । जनताले भोग्नुपरेका वास्तविक समस्यालाई जसले सम्बोधन गर्छ उसैलाई अवसर दिनुपर्ने भन्दै यहाँका मतदाताहरुले गाउँ गाउँमा सामुहिक छलफल समेत गर्न थालेका छन् ।

अहिले म्याग्दी अलि वढी चर्चामा छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा. महावीर पुनका कारण  विगतका निर्वाचनहरुभन्दा म्याग्दीमा यस पटकको निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत निकै महत्वका साथ हेरिएको छ ।

“अव उही पुरानै पाराको आश्वासन र लोकाचारका कुरामा भोट दिइँदैन,जसले हाम्रा आधारभूत समस्याहरु समाधान गर्ने प्रतिज्ञा गर्दछ उसैलाई यस पटकको निर्वाचनमा भोट हालिन्छ” बेनी नगरपालिका २ का मतदाता पूर्णबहादुर खत्रीले भन्नुभयो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै,राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक,श्रम संस्कृति पार्टीबाट विनोद राना,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे,मंगल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा,प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी,नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिष्पर्धामा छन्  ।

म्याग्दीमा कांग्रेस, एमाले, नेकपा, र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को प्र्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा(खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए  भने प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार,एक सय ८९ मत प्राप्त गरेका थिए ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिष्ट पाटीलाई स्वतन्त्र उम्मेदवार डा. पुन चुनौतीको रुपमा रहनुभएको स्थानीय मतदाताहरुले बताएका छन् ।  यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । 

“यस पटक साविकका राजनीतिक दलहरुबाट मात्र उम्मेदवार छैनन्,नया दल र स्वतन्त्रबाट उम्मेदवार छन्” मंगला गाउँपालिका ४ का टेकनाथ सापकोटाले भने “अघिल्ला निर्वाचनहरुमा जनतासँग पुराना दलको विकल्प थिएन,तर यस पटक भने जनतासँग विकल्प छ,त्यसैले जसले आधारभूत समस्या समाधानका लागि विश्वास दिलाउँछ उसैलाई मत दिइन्छ ।”

जनताको यही मनोभावलाई बुझेर होला उम्मेदवारहरुले पनि मतदाता भेटघाटका क्रममा स्थानीय समस्यालाई नै केन्द्रमा राखेर समाधान गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् । 

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

यसपालि म्याग्देली जनता राष्ट्रिय राजनीतिमा जिल्लाको भूमिका स्थापित गर्न सक्ने र जनताका आधारभूत समस्यालाई सम्वोधन गर्न सक्ने उम्मेदवारलाई जिताउने मनस्थितिमा देखिन्छन् ।