डडेल्धुरा।
नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पाका मतदाताहरु खुलेका छैनन् । २०४८ सालदेखि निरन्तर देउवालाई मतदान गर्दै आएका परम्परागत मतदाताहरुमा अन्यौलता देखिएको छ भने नवयुवा मतदाताहरु भने मत परिवर्तनको पक्षमा देखिएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरुले प्रचारप्रसार र घरदैलो भेटघाटमा तीव्रता दिइरहेका छन् । कांग्रेसको गढ मानिने डडेल्धुरामा परम्परागत मतदाताहरु खुल्न नसक्दा विपक्षी राजनीतिक दलका उम्मेदवारहरुमा भने उत्साह थपिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगनकुमार थापाले पूर्व केन्द्रीय सदस्य नैनसिंह महरलाई उम्मेदवार बनाएपछि देउवाका परम्परागत मतदाताहरुमा अन्यौलता उत्पन्न भएको हो।
‘२०४८ सालदेखि निरन्तर देउवालाई मतदान गर्दै आएका हुँ । यसपटक देउवा चुनावी मैदानमा नभएकाले कसलाई मतदान गर्ने भन्ने दोधारमा छु ।’ जिल्लाको भोट बैंक मानिने भित्रिमधेस क्षेत्रको विकट बड्डीमलासका वयोवृद्ध कांग्रेस नेता बुद्धी धामीले भने, ‘देउवाको इशारा नपाएसम्म कांग्रेसलाई भोट नदिने सोच अधिकांस मतदाताहरुमा देखिन्छ ।’
अध्ययनरत नाति नातिनी र वैदेशिक रोजगारीमा संलग्न युवाहरुले भोट परिवर्तन गर्न दबाब दिइरहेको र देउवाबाट कुनै इशारा प्राप्त हुन नसकेकाले अन्यौलमा रहेको पाका कांग्रेस कार्यकर्ता राधाकृष्ण जोशीले बताए । उनले देउवाले मतदातालाई आग्रह नगरेसम्म समानुपातिकबाहेक प्रतक्ष्यतर्फ कांग्रेस उम्मेदवारलाई मतदान गर्न नसकिने जिकिर गरे ।
मनोनयन दर्ता गरेर देउवालाई भेट्न राजधानी गएका कांग्रेस उम्मेदवार महरले पाँचदिन प्रयास गर्दा पनि देउवालाई भेट्न नपाएको कांग्रेस कार्यकर्ताहरुबीच चर्चा छ । देउवासँग भेटघाट नभएपछि विपी कांग्रेसका बरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई भेटेर पार्टी एकता गर्न आग्रह गरेका महरलाई तत्काल विपी कांग्रेससंग पार्टी एकता नगर्न जिल्लास्तरीय कांग्रेस नेताहरुको दबाब छ ।
‘उम्मेदवारलाई आवश्यक परेका बेला जसरी पनि चुनाव जित्ने नियतले पार्टी एकता गर्नुको औचित्य छैन,’ विपी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले भने,‘लोकतान्त्रिक पार्टी भएकाले विधिसम्मत काम हुनुप¥यो भन्ने आवाज उठाएकै कारण विगतमा कांग्रेसबाट विद्रोह गरेर विपी कांग्रेस स्थापना गर्नु परेको हुनाले विद्रोही शक्तिलाई एकताबद्ध बनाउन काङ्ग्रेसभित्र आन्तरिक लोकतन्त्र बलियो हुन जरुरी छ ।’
डडेल्धुरा कांग्रेसका जिल्लास्तरीय नेताहरुबीच तीव्र असन्तुष्टि र चरम गुटबन्दी मौलाउँदै गएका बेला देउवाले सबैलाई मिलाएर कांग्रेस जिताउन पहल गरेमात्रै महरको विजय सुनिश्चित हुने कांग्रेसका परम्रागत मतदाताहरुको सुझाव छ । नेपाली राजनीतिका बुद्धिमान खेलाडी देउवा चुनावी मैदानमा नहुँदा कांग्रेसको विरासत जोगाउन मुस्किल हुने बुद्धिजीवीहरू बताउँछन् ।
कांग्रेस मतदाताहरुबीच देखिएको अन्यौलता चिर्न उम्मेदवार महरले देउवाकै आर्शिवाद लिएर उम्मेदवार बनेको र देउवाले जिल्लाबासीहरुलाई सम्बोधन गरेर आफ्नो पक्षमा भोट माग्ने दाबी गर्दै आएका छन् । ‘चुनावी मैदानमा नभए पनि देउवाको सहयोगमा कुनै पनि उम्मेदवारले विजय हासिल गर्न सक्दैन्,’ डडेल्धुरा कांग्रेसका एकपदाधिकारीले भने,‘यसपटकको चुनावी नतिजा देउवाको निर्णयमा भरपर्छ ।’
कांग्रेसभित्रको अन्यौलताले विपक्षी राजनीतिक दलका उम्मेदवारहरु उत्साहित भएर चुनावी अभियानमा क्रियासिल छन् । ‘डडेल्धुरामा देउवा उम्मेदवार नहुँदा चुनाव जित्न सहज हुने देखिएकाले थप मिहेनत गरेर मत बढाउन क्रियासिल छौं,’ तीन पटक देउवासँग चुनावी प्रतिस्पर्धा गरेर पराजित भएका नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले भने, ‘यसपटक हाम्रो उम्मेदवार मानसिंह मालको जित सुनिश्चित बनाउन लागेका छौं ।’
सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीलाई उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी माहोल नयाँ राजनीतिक दलको पक्षमा भएकाले विजयी हुने दाबी गरेको छ । राष्ट्रिय सभाका पूर्व सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको एमाले डडेल्धुराले असन्तुष्ट कांग्रेस मतदाताहरुको मत एमालेमा आउनसक्ने भएकाले जित सुनिश्चित हुने दाबी गरेको छ ।
डडेल्धुरामा १० राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारहरु प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । देउवाले मतदातालाई आग्रह नगरेसम्म कांग्रेसका उम्मेदवार विजयी हुन नसक्ने र कांग्रेसको गढ भत्किन सक्ने भन्दै पाका कांग्रेस कार्यकर्ताहरु निराश छन् । कांग्रेसको चुनावी आमसभा सम्बोधन गर्न देउवा गृह जिल्ला पुग्ने र मतदाताहरुमा व्याप्त निराशा चुनाव अघिनै उत्साहमा थपिने डडेल्धुरा कांग्रेसले जनाएको छ ।











प्रतिक्रिया