काठमाडौँ
नेपालको निर्माण क्षेत्रको विकासलाई केन्द्रमा राखी आयोजना गरिएको ‘नेपाल निर्माण अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा माघ २२ गतेदेखि सञ्चालनमा आएको उक्त प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् ।
तीन सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको प्रदर्शनीमा दुई सयभन्दा बढी स्टलमार्फत निर्माण उद्योगसँग सम्बन्धित नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीले निर्माण क्षेत्रका सरोकारवालालाई एउटै स्थानमा आधुनिक प्रविधि र समाधानबारे जानकारी लिने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
गत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा निरन्तर रूपमा सम्पन्न हुँदै आएको नेपाल निर्माण प्रदर्शनीले सुरुआतकालदेखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्र्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रदर्शनीमा वास्तुकला सम्बन्धी हार्डवेयर, एल्युमिनियम प्रोफाइल, मार्बल, टायल, सेनेटरी सामग्री, मोड्युलर तथा आधुनिक भान्सा प्रणाली, छाना सामग्री, बाहिरी आवरण, लिफ्ट, उचाल्ने मेसिन, चल्ने भ¥याङ, ढोका–झ्याल, भुइँ सामग्री, भित्ते आवरण, काँच जडान, पाइप तथा प्लम्बिङ सामग्री, निर्माण रसायन, पिभिसी तथा युपिभिसी प्रोफाइल, ब्याट्री, विद्युत् जेनेरेटर, सिमेन्ट र फलाम लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका थिए ।
निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, वास्तुविद्, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी रहेको सहभागीहरूको प्रतिक्रिया रहेको छ । प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने ऊर्जा सहयोगीका रूपमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको थियो ।











प्रतिक्रिया