रौतहट।
आफूलाई सिआइबी (CIB) को प्रहरी सहायक निरीक्षक भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको कबिलासी नगरपालिका–१० सलेमपुर टोल निवासी ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनी नेहा, निशा तथा पुनम कुमारीलगायत विभिन्न नाम प्रयोग गरी ठगी गर्दै आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई रौतहटको चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो। लालबन्दी नगरपालिका निवासी राजेश्वर साह, चन्द्रपुर नगरपालिका निवासी सन्तोष बहादुर विश्वकर्मा र प्रवीण साह तथा गुजरा नगरपालिका निवासी विजय साह बनियाँले आफूहरू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीका अनुसार अटो चालकसमेत रहेका जाहेरवाला राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा चिनजान भएको थियो। त्यसक्रममा निर्मला महतोले आफू प्रहरी सहायक निरीक्षक भएको बताउँदै भन्सार कार्यालयबाट स्कारपियो गाडी छुटाइदिने प्रलोभन देखाई उनकी श्रीमतीको सक्कल नागरिकता र पासपोर्ट साइजका तस्बिरसहित १ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
यस्तै, सन्तोष विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा खरिद गरेको सुनचाँदी गहनाको २ लाख ७४ हजार रुपैयाँ नतिरेको, विजय साह बनियाँसँग घरायसी समस्या देखाई ५ लाख रुपैयाँ सापटी लिएको तथा प्रवीण साहको किराना पसलबाट उधारोमा सामान खरिद गर्नुका साथै स्कारपियो गाडी भाडामा लिएर १ लाख २६ हजार रुपैयाँ नतिरेको आरोपसमेत लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मला महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरी नायब उपरीक्षक रूपा लाबुङले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।











प्रतिक्रिया