वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै पैसा असुली लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा विदेश पठाइदिने नाममा ठगी गरी सम्पर्कविहीन बनेको पुष्टि भएपछि काठमाडौैं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाग्लुङ काठेखोला गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ बस्ने ४३ वर्षीया कोपिला शर्मा छन्। उनले बेलायत पठाइदिने भन्दै एक जनाबाट १३ लाख रुपैयाँ लिएको आरोप छ। उनलाई शनिबार चन्द्रागिरिबाट पक्राउ गरिएको हो।

यस्तै, धनकुटा नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ३१ वर्षका सन्तोष राईलाई पनि पक्राउ गरिएको छ। उनले कम्बोडिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई पनि शनिबार काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–९ स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४८ वर्षीया कुमारी तामाङलाई आइतबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको हो। उनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी सरकारी प्रक्रिया र आधिकारिक निकायमार्फत मात्रै वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।