अमेरिका पठाइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा दुई महिला पक्राउ


काठमाडौं ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै रकम असुली लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन बनेको अभियोगमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितले दिएको जाहेरी दरखास्तका आधारमा गरिएको अनुसन्धानमा विदेश पठाइदिने नाममा ठगी गरेको पुष्टि भएपछि काठमाडौैं महानगरपालिका–११ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका–२ स्थायी घर भई हाल ललितपुर धापाखेल बस्दै आएकी ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन रहेका छन्। उनीहरूले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

उनीहरूलाई आइतबार काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको हो। यस घटनामा एक जना पीडित रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपर्न तथा वैधानिक प्रक्रिया र आधिकारिक निकायमार्फत मात्रै वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।