उपत्यकामा एक साताको अपराध नियन्त्रण उपलब्धि: १२० जना पक्राउ, २८८ अभियुक्तविरुद्ध मुद्दा दर्ता


काठमाडौं ।

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा एक साताको अवधिमा सञ्चालन गरेको विशेष सुरक्षा तथा अपराध नियन्त्रण अभियानबाट उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यहीं माघ १८ गतेदेखि २४ गतेसम्मको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न १२० जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार यस अवधिमा २८८ जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएको छ। अदालतबाट भएका फैसला कार्यान्वयनतर्फ १२० जनालाई पक्राउ गरी ७४ लाख ४४ हजार ७८५ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ९ वर्ष १० महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको छ।

त्यसैगरी, राजश्व चुहावट तथा भन्सार छलीसम्बन्धी कारबाहीबाट १ करोड ९ लाख २९ हजार ३ सय ८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। चोरीमा प्रयोग भएका तथा चोरीका २७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको पनि प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र नागरिकको सुरक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।