लालझाडीमा जङ्गली हात्तीको आक्रमण, ६ वर्षीया बालिकाको मृत्यु


धनगढी ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक नाबालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन्। आइतबार बिहान करिब साढे २ बजे लालझाडी गाउँपालिका–६ ढक्का चानदेवस्थित किसन सिंह साउदको घरमा जङ्गली हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट जोगिन घरबाट भाग्ने क्रममा ६ वर्षीया रोजिना साउद र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि धनगढी रिफर गरिएकोमा उपचारकै क्रममा बालिका रोजिनाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पार्वती साउदको उपचार भइरहेको छ।