काठमाडौं
जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा नेपाल–जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनपश्चात भएको सार्क क्षेत्रका जाइका अलमनाईको निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । सार्क क्षेत्रका जाइका अलमनाईको अध्यक्षमा निर्वाचित डा. भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का वर्तमान अध्यक्ष र सन् २०१७ देखि हालसम्म जाफ्सको महासचिव छन् ।
सार्क क्षेत्रका जाइका अलमनाईहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा जानका अध्यक्ष डा. भुसाल र उपाध्यक्ष डा. किरण रूपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा नेपालको तर्फबाट डा. भुसालको नेतृत्वमा ६ सदस्यीय टिमले भाग लिएको थियो ।

सम्मेलनमा बोल्दै श्रीलंकाका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता संगठनको रूपमा रहेको जाफ्सले जापान र सार्क क्षेत्रका देशहरू बीचको सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै भविष्यमा समेत जाफ्सले यस किसिमको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले यस किसिमका सेमिनारले विभिन्न देशका अलमनाई सदस्यहरू बीचमा ज्ञान र अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताए ।
जाइका श्रीलंकाका प्रमुख केन्जी कुरोनुमाले अहिलेको विश्वमा समाजिक तथा आर्थिक विकास सबै राष्ट्रको प्राथमिकतामा रहेकोले त्यसको लागि अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव आवश्यक पर्ने हुँदा विभिन्न देशमा रहेका जाइका अलमनाई (जाफ्स) का सदस्यहरू बीचको सञ्जाल, समन्वय र एकता महत्वपूर्ण हुने र जाफ्सका कार्यक्रममा जाइकाको सहयोग रहने बताए । जाफ्स तथा जानका अध्यक्ष डा. भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्दै आएको र जापानबाट हामीले इमान्दारिता आफ्नो जिम्मेवारीको जवाफदेही, अनुशासन, समयनिष्ठता र जापानीहरूले आआफ्नो पेशामा गर्ने मिहिनेत सिक्नुपर्ने बताए । सेमिनारको अध्यक्षता गरेका श्रीलंका जाइका अलमनाई एसोसिएसनका अध्यक्ष एस.एम साथियाकामाले आफ्नो अलमनाईले यस किसिमको अन्तर्राष्ट्रिय सेमिनारको आयोजना पहिलोपटक गर्ने अवसर पाएको र यस सेमिनारले जापान र श्रीलंका बीचको सुमधुर सम्बन्धलाई अझै बलियो बनाउने र जापान र सार्क क्षेत्रका राष्ट्रहरूको बीचको सम्बन्धसमेत मजबुत हुने बताए ।

कार्यक्रममा जानका महासचिव सुश्री शान्तिलक्ष्मी शाक्यले जानका गतिविधिहरूको बारेमा प्रस्तुति गरिन् भने सार्क क्षेत्रका जाइका अलमनाईहरूबाट भए गरेका गतिविधिहरूको बारेमा सम्बन्धित देशका जाइका अलमनाईहरूका महासचिवहरूले प्रस्तुति गरेका थिए । सार्क क्षेत्रका जाइका अलमनाईहरूको छाता संगठनको रूपमा जाफ्सको स्थापना सन् २००८ मा भएको हो र यसको सचिवालय सन् २०१७ देखि काठमाडौं, नेपालमा रहेको छ ।











प्रतिक्रिया