निर्वाचन आचारसंहिताका कारण न्यायाधीश नियुक्ति रोकियो


काठमाडौँ । 

निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको जानकारी आयोगलाई गराएपछि आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले अहिले नियुक्ति गर्न नमिल्ने निर्णय सुनाएको हो।

निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको भन्दै सर्वोच्च अदालतकै केही न्यायाधीश र कानुन व्यवसायीहरूले समेत आपत्ति जनाएका छन्।

वर्षौंदेखि रिक्त रहेका न्यायाधीश पदमा चासो नदेखाएको परिषद्ले निर्वाचनको मुखमा हतार गरेको भन्दै आलोचना भइरहेको छ। आयोगको निर्णयपछि न्यायाधीश नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ।