छोराको विहेभोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान


काठमाडौँ ।

वरिष्ठ अधिवक्ता सुशील पन्त र उहाँकी धर्मपत्नी कुमुदा पन्तले छोराको विहेमा भोजनगरी उक्त शीर्षकमा खर्च हुने रकम समाजमा दीर्घकालीन प्रभाव सृजना गर्ने सनातन धर्म रक्षा तथा संस्कृति र संस्कारको विकासको लागि देवघाटधामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप अर्पण गर्नुभएको छ ।

शुक्रबार कान्छा छोरा सुयोग्यकोकृति घिमिरेका साथ विवाह सुसम्पन्न भए पश्चात्उहाँले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपियाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजलाई हस्तान्तरण गर्नुभएको हो ।

‘कमाउने त्यो, दिनलाई नै हो’लाई आदर्श वाक्य मानेर उहाँले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा फजुल खर्च नगरी त्यस्तो रकम परोपकारी एवं जनकल्याणकारी कार्यमा संलग्न संस्थालाई दिने गर्नुभएको छ । यसअघि जेठा छोराको विहे गर्दा पनि उहाँले भोज नगरी सोबापत खर्च हुने ४० लाख रकमबाट२० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र अर्को २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गर्नुभएको थियो ।

गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गर्नुभएको आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवामा समर्पित संस्था हो । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

आश्रमले अध्यात्म, संस्कृति संरक्षण र सामाजिक क्षेत्रमा प्रसंसनीय कार्य गर्दै आएकोले सनातन धर्म, संस्कृति र संस्कारको विकास तथा जगेर्ना हेतु दान दिनका लागि आफूले उक्त आश्रम रोजेको पन्तले बताउनुभयो । यो दानको उद्देश्य स्वर्गवासी मातापिताको स्मृतिमा परोपकारी कार्य गर्नु समेत रहेको उहाँले स्पष्ट पार्नुभयो ।