काठमाडौँ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (कुकुल) ले भुक्तानीसम्बन्धी कारोबारलाई पूर्ण रूपमा स्वचालित बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग सम्झौता गरेको छ । यस सम्झौतापछि कुकुलले एनसिएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण कार्य सुरु गरेको हो ।
सम्झौतापत्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक अशोक कुमार पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापश्चात् कुकुलको आन्तरिक प्रणालीलाई एनसिएचएलको राष्ट्रिय भुक्तानी अन्तरापृष्ठ (नेशनल पेमेन्ट इन्टरफेस) सँग जोडेर विभिन्न भुक्तानी उपकरणको प्रयोग सुरु गरिएको छ ।
यस व्यवस्था अन्तर्गत कुकुलले एनसिएचएल–आईपीएस र आरपीएस प्रणालीमार्फत तलब भुक्तानी, आपूर्तिकर्ता भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न भुक्तानी कारोबार सञ्चालन गर्न सक्नेछ । यी सबै कारोबार कुकुलको बैंक खाताबाट सिधै लाभग्राही वा ग्राहकको बैंक खातामा जम्मा हुनेछन् । साथै, संस्थाले अन्य डिजिटल भुक्तानी सेवा पनि क्रमिक रूपमा लागू गर्ने योजना बनाएको छ ।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीलाई एकीकृत रूपमा सञ्चालन गर्न ‘ओपन एपीआई’ अवधारणामा विकास गरिएको राष्ट्रिय भुक्तानी अन्तरापृष्ठमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्था प्रत्यक्ष सदस्यका रूपमा आबद्ध छन् ।
त्यसैगरी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्था सहित ११० भन्दा बढी गैर–बैंकिङ संस्था अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् । यस माध्यमबाट सदस्य संस्थाहरूले एनसिएचएल–आईपीएस र आरपीएस प्रणालीको प्रयोग गर्न सक्नेछन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था हो । सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउने उद्देश्यसहित कुकुलले लामो समयदेखि आवश्यक मानिएको डिजिटल रूपान्तरण अभियान सुरु गर्दै आफ्ना बिलिङ तथा भुक्तानी प्रक्रियालाई स्वचालित बनाउने पहल अघि बढाएको छ ।











प्रतिक्रिया