निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा तयारी बुझ्न गृहमन्त्रीसहितको टोली नुवाकोट र धादिङमा


नुवाकोट ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताउनु भएको छ ।

शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीसम्बन्धी विषयमा नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुग्नु भई उहाँले सो धारणा राख्नु भएको हो ।

निरीक्षण अनुगमनको टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा गृहमन्त्री अर्यालको सचिवालयका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

सो क्रममा गृहमन्त्री अर्यालले भन्नुभयो, “चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा गराउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ । त्यो कुरा तपाईंहरूले हाम्रो आचरण र व्यवहारबाट महसुस गरिसक्नु भएको छ र आगामी दिनमा पनि गर्दै जानु हुनेछ ।” उहाँले निर्वाचनका क्रममा फैलाइँदै आएका मिथ्या र भ्रामक सूचनाबाट सचेत रहन र आ–आफ्नो जिम्मेवारीअनुसार निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गर्नुभयो ।

नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको निर्वाचन तयारीसम्बन्धी प्रस्तुतीकरण अवलोकन गरेपछि गृहमन्त्री अर्यालले जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था मिलाई निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत आचार्यले हालसम्म कार्यालयबाट गरिएका तयारी, निर्वाचन सामग्री व्यवस्थापन, मतदाता सूची अद्यावधिक र सुरक्षासम्बन्धी समन्वयबारे टोलीलाई जानकारी गराउनु भएको थियो । बैठकमा जिल्लाका दुवै निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकृतहरू तथा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

निरीक्षण भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्रालयका प्रवक्ता काफ्लेले नुवाकोट र धादिङ जिल्लामा जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतबीचको समन्वय प्रभावकारी रहेको र निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनु भयो ।

यस्तै, आजै गृहमन्त्री अर्यालसहितको सोही टोली नुवाकोटबाट धादिङ पुगेर त्यहाँको समग्र सुरक्षा अवस्था तथा निर्वाचनको तयारीबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरूसँग जानकारी लिनुभएको छ । सो क्रममा गृहमन्त्री अर्याल र गृह सचिवको टोलीले जिल्लामा आइपुगेका निर्वाचनसम्बन्धी बन्दोबस्तका सामग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो ।