काठमाडौँ ।
काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने आठ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकाका विभिन्न क्षेत्रमा मोटरसाइकलको चर्को आवाजले स्थानीय बासिन्दालाई हैरानीमा पार्दै आएको गुनासो आएपछि विशेष चेकजाँच अभियान सञ्चालन गरिएको थियो।
तारकेश्वर–८, नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको जाँचमा ती मोटरसाइकल अवैध रूपमा साइलेन्सर र अन्य संरचनामा परिवर्तन गरिएको पाइएको हो। यसले ध्वनि प्रदूषण बढाइरहेको र सर्वसाधारणको दैनिकीमा नकारात्मक असर पुर्याएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, अत्यधिक ध्वनि बालबालिका, वृद्धवृद्धा, बिरामी र विद्यार्थीहरूलाई बढी प्रभावित पार्छ। ती मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार कानुनी कारबाहीका लागि ट्राफिक कार्यालयमा राखिएको छ।
प्रहरीले सबै सवारी चालक र ग्यारेज सञ्चालकलाई कानून अनुसार सवारी चलाउन र अवैध परिवर्तन नगर्न सचेत रहन आग्रह गरेको छ।











प्रतिक्रिया