चितवनका सडक पोटहोल मर्मत गर्न रेडिमेड प्रिमिक्स


चितवन ।

चितवन जिल्लाका मुख्य सडकमा देखिने स–साना खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय भरतपुरले रेडिमेड प्रिमिक्स तयार गरेको छ। सिमेन्टको बोरामा प्याक गरिएको यो प्रिमिक्स कम्तीमा छ महिनासम्म प्रयोगयोग्य हुने सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए।

बिटुमिन (एमसी–एटर्नेट) र स्टोन चिप्स प्रयोग गरी बनाइने प्रिमिक्स आवश्यकता परेको बेला तुरुन्तै प्रयोग गर्न सकिने भएकाले आपत्कालीन मर्मतमा उपयोगी रहेको कार्यालयको भनाइ छ। कम खर्च र कम जनशक्तिमा तयार हुने यो प्रविधि २०७६ सालदेखि पाइलट प्रोजेक्टका रूपमा प्रयोग हुँदै आएको छ।

हाल करिब १,५०० बोरा प्रिमिक्स तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार परिमाण बढाइने जनाइएको छ। नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको कार्यालयले जनाएको छ।