काठमाडौँ ।
सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय माघ २३ गते मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठकबाट गरिएको हो ।
बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचना आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण लगायत विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसका साथै सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच सहमति भएको छ ।
सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमा निगरानी बढाउने, विभिन्न तहका चेकपोइन्ट र बारियर खडा गर्ने, आपराधिक तत्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने तथा सीमा क्षेत्रमा मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गरे । भारतीय एसएसबीका डीआईजी सरोज कुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ सुरक्षित, मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा सशस्त्र प्रहरी महानिरीक्षकहरू अञ्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीतर्फबाट डीआईजी सरोज कुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमण्यम, राजेश टिक्कु र मनिष कुमारको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया