धादिङ-२ मा नेपाली काँग्रेस, एमाले नेकपा रास्वपा लगायतको घरदैलो अभियान सुरु

470
Shares

धादिङ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ टमा उम्मेदवारहरूले घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेका छन्। निर्वाचनको सरगर्मी बढेसँगै विभिन्न दलका उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले ज्वालामुखी गाउँपालिका साँधभन्ज्याङमा सभा गरि घरदैलो अभियान शुभारम्भ गरेका छन्। अभियानका क्रममा उनले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखेर आफ्ना प्रतिबद्धता मतदातासामु प्रस्तुत गरिरहेका छन्।

नेपाली काँग्रेस नेता कार्यकर्ता समेतको उपस्थितिमा सुरु गरिएको घरदैलो अभियानमा नेपाली काग्रेस सचियर जनताको घरमा मतमाग्न जाने बताउनुभयो ।

नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले नेत्रावती डबजोंग गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन्। घलेले धादिङबेसि तिप्लिङ सडक पिच, उत्तरी क्षेत्रको पूर्वाधार विकास, कृषि आधुनिकीकरण तथा स्थानीय रोजगारी प्रवर्द्धनका विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। अहिले ज्वालामुखीमा एमाले उम्मेदवार घरदैलोेमा पुगेका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले पनि नेत्रावती डबजोंगबाट घरदैलो अभियान सुरु गर्दै जनताका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार बोधनारायण श्रेष्ठले नीलकण्ठ नगरपालिकाको धुवाकोटबाट मतदाता भेटघाट अभियान सुरु गरेका छन्। उनले सुशासन, पारदर्शिता र नागरिकमुखी सेवामा जोड दिँदै नयाँ राजनीतिक संस्कारको आवश्यकता औंल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार सरेश रिजालले नीलकण्ठ नगरपालिकाबाट मतदाता भेटघाट सुरु गरेका छन्। उहाँले सुशासन र स्थानीय पहिचानलाई मजबुत बनाउने एजेन्डा अघि सारेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०का उम्मेदवार वीरबहादुर तामाङले सेमजोंगको गैराबाट मतदाता भेटघाट अभियान सुरु गरेका छन्। उनले श्रमिक, किसान र विपन्न वर्गको हकअधिकारका विषयलाई प्रमुख मुद्दाका रूपमा उठाएका छन्।

श्रम संस्कृति पार्टीका उम्मेदवार टासी लामाले पनि विभिन्न स्थानमा मतदाता भेटघाट अभियान सुरु गरेका छन्। उनले श्रम संस्कृति प्रवर्द्धन, स्थानीय उत्पादनको बजारिकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य उद्देश्यका रूपमा अघि सारेका छन्।

धादिङ क्षेत्र नम्बर २ मा उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल थप तातिएको छ। मतदाता भेटघाट तथा घरदैलो अभियानमार्फत उम्मेदवारहरूले आफ्ना योजना र प्रतिबद्धता प्रत्यक्ष रूपमा प्रस्तुत गरिरहेका छन्, जसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।