भक्तपुर ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ पनि सर्वाधिक चर्चामा रहेको क्षेत्रमध्ये एक हो । यस क्षेत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बसोबास र सो दलका प्रभावकारी नेताका रूपमा रहेका सचिव महेश बस्नेतको गृहनगर र निर्वाचन क्षेत्रसमेत रहेकाले यहाँको चुनावी सरगर्मीलाई चासोका नजरले हेर्न थालिएको छ ।
गत भदौको जेन–जी आन्दोलनपछि अपदस्त भएका प्रधानमन्त्री ओलीलाई सुरक्षित रूपमा गुण्डुमा भौतिक पुनरागमन गराउने अभियानमा मुख्य भूमिका देखाएका बस्नेत एमालेभित्र शक्तिशाली देखिए पनि जनताबाट अनुमोदित हुनुहुन्छ वा हुनुहुन्न त्यो भने हेर्न बाँकी छ ।
बस्नेत यस क्षेत्रबाट उम्मेदवार बनेकाले आम रूपमा उहाँले जित्नुहुन्छ या जित्नुहुन्न भन्ने चासो छ । झापामा अध्यक्ष ओली र यहाँ बस्नेतको जित हारलाई एमालेले अंगालेको नीति ठीक कि बेठीक भन्ने जनपरीक्षण हुने आम बुझाइ छ ।
उहाँले ओली र एमालेलाई लगाएको गुनको पुरस्कार पार्टी सचिव बनेर पाइसक्नुभएको छ । अब उहाँ चुनाव जितेर एमाले सरकारको मन्त्री बन्न चाहेको बताइरहनुभएको पनि छ । तर, बस्नेतले अँगालेको र पहिल्याएको राजीतिक मार्ग जनमतको कसीमा उत्तीर्ण हुन्छ कि हुन्न त्यो प्रतीक्षाको विषय बनेको छ ।
सरसर्ती हेर्दा यहाँ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुर–२ मा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जना उम्मेदवार छन् । दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदै छ । नतिजा कसको पक्षमा जान्छ आँकलन गर्ने विषय पेचिलो बनेको छ ।
अघिल्लो निर्वाचनमा झिनो मतान्तरमा कांग्रेसका दुर्लभ थापा विजयी हुनुभएको यस क्षेत्रमा कांग्रेसले कविर राणालाई नयाँ उम्मेदवारका रूपमा उतारेको छ । एमालेले पार्टी सचिवमा अग्रणी मत ल्याएर सचिवसमेत बनेका महेश बस्नेतलाई नै प्रतिस्पर्धामा उभ्याएको छ ।
पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै संसद् पुग्नुभएका पूर्वमन्त्री बस्नेत ०७४ का विजेता तथा २०७९ मा थापाका प्रतिद्वन्द्वी उम्मेदवार पनि हुनुहुन्छ । एउटा यहाँको विशेषता के देखिन्छ भने यो क्षेत्रले ०४८ सालयता कसैलाई पनि लगातार म्यान्डेट दिएको छैन ।
अघिल्लो निर्वाचनमा तेस्रो मत ल्याएको नेपाल मजदुर किसान पार्टीले रमेश वैद्य, चौथो मत ल्याएको रास्वपाले राजीव खत्री, पाँचौँ स्थानको मत ल्याएको राप्रपाले विक्रम थापालाई उम्मेदवार बनाएको छ । नेकपाले भने केन्द्रीय सदस्य तथा वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखालाई उम्मेदवार बनाएको छ ।
आम जनता पार्टीकी देवकुमारी साह, उज्यालो नेपाल पार्टीका जितराम लामा, नेपाली पार्टीका राजेश बाडे, मंगोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन वासु, जसपा नेपालका नवीन श्रेष्ठ, नेकपा (माओवादी) का प्रकाशराज ढुंगेल, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाललगायतले उम्मेदवारी दिनुभएको छ ।
भक्तपुर–२ मा कांग्रेस विशेष महाधिवेशनपछि पार्टीमा आएको तरंगलाई साम्य पार्दै आन्तरिक पक्ष सुदृढ बनाएर अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिने र आफू यहाँको निरन्तरको बलियो दल भन्ने प्रमाणित हुने गरी चुनावी परिचालनमा अघि बढेको छ ।
बस्नेत भने अघिल्लोपटकको पराजयबाट पाठ सिकेर पुनः परिणाम आफ्नो पोल्टामा पार्ने रणनीति बनाएर प्रचारमा अघि बढ्नुभएको छ । नेमकिपा भक्तपुर–१ मा गरेको विकास निर्माणलाई प्रचार गरेर जितको प्रयत्नमा देखिन्छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहकै मार्गदर्शनमा आउनुभएका सञ्चार क्षेत्रमा सक्रिय पत्रकार खत्रीका लागि यो क्षेत्र नयाँ भए पनि जितका लागि पार्टीले नै योजना बनाएर लागिपरेको छ । नेकपाले युवा क्षेत्रमा क्रियाशील नयाँ अनुहारका रूपमा अघि सारेको उम्मेदवार सापकोटाप्रति आकर्षण बढाएर जित निकाल्ने रणनीति बनाएको बताएको छ ।
संयोग त के छ भने एमालेका बस्नेतलाई चुनौती दिने धेरै पत्रकार पृष्ठभूमिकै छन् । यहाँ २०४६ पछिको ४ पटकको विजेता दल कांग्रेसका उम्मेदवार कविर राणा वरिष्ठ पत्रकार हुनुहुन्छ भने रास्वपाका राजीव खत्री र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जन्मदेव जैशी सक्रिय पत्रकार हुनुहुन्छ । यसै गरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सापकोटा पनि पत्रकारिता पृष्ठभूमिमा जोडिएका व्यक्ति नै हुनुहुन्छ ।
यस क्षेत्रमा बस्नेतलाई मुख्य रूपमा कांग्रेसका राणा र रास्वपाका राजीव खत्री भारी पर्ने देखिन्छ अर्थात् यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
प्रजातन्त्र प्राप्तिपछिको आलोपालोमा निरन्तर निर्वाचन जित्दै आएको मात्र होइन अघिल्लो चुनाव जितेको हुनाले कांग्रेस बस्नेतका लागि पहिलो स्वाभाविक चुनौती हो । संगठनात्मक संरचना र अघिल्लो जितको मनोवैज्ञानिक बल कांग्रेसको मुख्य शक्ति हो ।
अघिल्लो निर्वाचनयता भने अहिले देशभर देखिएको परिवर्तनको माहोलले रास्वपालाई कमजोर प्रतिद्वन्दी दल मान्न सकिन्न । यस क्षेत्रमा मजदुर किसान पार्टी र राप्रपाको मत पनि सम्मानजनक नै छ । त्यसैले उनीहरूले प्राप्त गर्ने मत विजेताको जितमा निर्णायक र महत्वपूर्ण हुनसक्ने देखिन्छ ।
यसपटकको निर्वाचनमा फरक पृष्ठभूमिका उम्मेदवारको उपस्थिति र रास्वपाको खोक्रो वा वास्तविक परीक्षण हुन बाँकी जनलहरले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने आँकलन गरिएको छ । त्रिपक्षीय वा बहुपक्षीय प्रतिस्पर्धामा सानो मतान्तरले परिणाम उल्टिन सक्ने सम्भावना यहाँ प्रबल देखिन्छ । वास्तवमा भन्नुपर्दा भक्तपुरको यो निर्वाचन केवल एक सिटको प्रतिस्पर्धामात्र होइन यो राजनीतिक सन्देशको लडाइँ पनि हो । यहाँ कहिले कांग्रेस, कहिले नेमकिपा, कहिले एमालेले जित हात पारेका छन् ।
भक्तपुर–२ मा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँचजना अन्य मतदाता गरी ९८ हजार ३५६ मतदाता छन् । यो क्षेत्रमा ३९ मतदान स्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कुल ७६ मतदान स्थल र २३३ मतदान छन् ।
कांग्रेसले सामाजिक समावेशिता, लोकतन्त्र र स्थानीय विकास, एमालेले पूर्वाधार, राष्ट्रिय नेतृत्वसँगको सम्बन्ध र विकास, रास्वपाले नयाँ दललाई विश्वास गर्न र नेमकिपाले स्थायित्व, विचार र संगठनलाई मुख्य एजेन्डा बनाएका छन् ।
चुनावी माहोल बढेसँगै दल र उम्मेदवारबीच आरोप–प्रत्यारोप थप तीव्र बन्दै गएको छ । प्रचारका लागि दलहरूले सामाजिक सञ्जालको उल्लेख्य प्रयोग गर्न थालेका छन् । औपचारिक रूपमा पार्टीले घरदैलो सुरु नगरे पनि प्रत्यक्ष भेटघाट बढ्दै गएको छ ।
राप्रपाले वैकल्पिक शक्तिका साथै हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा अघि सारेको छ । सबै दलहरूले मुख्य रूपमा भ्रष्टाचार, अनियमितताका साथै विकाससँग सम्बन्धित विभिन्न एजेन्डालाई अघि बढाइरहेका छन् ।
दलका सहित स्वतन्त्र उम्मेदवार पहिलो चरणको आन्तरिक योजना र तयारी सकेर मतदाता भेटघाटतिर लागेका मात्र छैनन् जितको योजना बनाएर विभिन्न रणनीतिसहित चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् ।











प्रतिक्रिया